सीमानाका बन्द भए पनि सीमापारी गएर खरिदारी गर्ने क्रम फेरि बढ्यो

  माघ १२, २०७७

नेपालगञ्ज, माघ ११ : कोभिड महामारीका कारण गत चैत ११ गतेपछि बन्द भएको यहाँस्थित नेपाल भारत जमुनाहा सीमा नाका अझैँ पनि औपचारिक रुपमा खुलेको छैन । औपचारिक रुपमा सीमाना बन्द रहेपनि आवश्यक काम पर्नेहरुलाई मात्र दुबैतर्फ आवागमन गर्न दिइएकोमा नेपाली उपभोक्ताहरुले फेरि सीमापारी गएर ठुलो परिमाणमा मालसामान खरिद गरेर ल्याउन थालेको पाइएको छ ।

नेपाली उपभोक्ताले आवश्यक कामको बहानामा सीमापारी रुपैडिहा बजार जाने र ठूलो परिमाणमा मालसामान किनेर भन्सार राजस्व नतिरी नेपालगञ्ज भित्र्याउने कार्य भैरहेको पाइएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमाना बन्द रहेकै अवस्थामा यसरी सीमापारी गएर खरिदारी गरेको सामानलाई राजस्व नतिरेर ल्याउनुले नेपालगञ्जको व्यवसायमा असर पारेको बताउनुभयो ।

उहाँले केही समय पहिलेसम्म सीमानामा कडाईं भएका कारण मानिसहरुले आवागमन गरे पनि सामान ल्याउन नदिएको तर हाल आएर ठूलो संख्यामा मानिसहरु पनि पारी गैरहेको र उनीहरुले घरायसी प्रयोगका धेरै मालसामान राजस्व नतिरेर ल्याउने गरेको बताउनुभयो । अहिले फेरि दैनिक तीनदेखि ५ हजारसम्म नेपाली उपभोक्ता सामान खरिदका लागि सीमापारी रुपैडिहा जाने गरेको पाईएको संघले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कुनै पनि सामान भन्सार नतिरेर ल्याउन नपाउने भनेर कडा निर्देशन दिए पनि सो निर्देशनको समेत पालना नभएको पाईएको नेपालगञ्जका व्यवसायीहरुको गुनोसो छ ।
उता, माघ १ गतेदेखि सीमानालाई धेरै हदसम्म खुकुलो पारिएको र सर्वसाधारणलाई सहज रुपमा आउन जान दिईएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले अहिले आएर नेपालतर्फबाट पनि सिमाना केही खुकुलो गरिएको हुँदा आवागमन बढेको बताउनुभयो । अहिले किनमेलकै लागि भनेर सीमापारी जान छुट नदिए पनि सीमापारी जानेले किनमेल समेत गरेको हुनसक्ने उहाँले बताउनुभयो ।
औपचारिक रुपमा सीमाना बन्द रहेपनि अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् । भारत जान र सामान लिएर आउन अहिले कुनै रोकटोक नभएको नेपालगञ्ज उपमहानगरपालिका–११ का गयास सिद्दिकीले बताउनुभयो ।

यसरी नेपाली उपभोक्ताले फेरी सीमापारीको रुपैडिहा बजार भरिन थालेपछि त्यहाँ व्यापार व्यवसाय ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । रुपैडिहाका व्यवसायी सञ्जय मित्तलले ८ महिना जति शुन्य व्यवसाय रहेको रुपैडिहामा अहिले पहिलेकै जस्तै व्यापार व्यवसाय हुन थालेको बताउनुभयो । औपचारिक रुपमा बन्द रहेको सीमा नाकामा आउजाउ धेरै बढेको छ ।

तपाईको प्रतिक्रिया