चिकित्सक भन्छन्– दोस्रो पटक कोरोना संक्रमित भएकामा गम्भीर लक्षण

  कार्तिक ०८, २०७७

काठमाडौं, कात्तिक ८ : काठमाडाैंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे । १४ दिनपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी नियमित काममा फर्किए । तर एक हप्ताअघि मात्र उनलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने लक्षणहरु देखिन थाले । उनले सुरुमा त फ्लु होला भनेर चुप बसे । तर, पुनः पीसीआर गराउँदा उनमा कोरोना संक्रमण पोजिटिभ देखियो । उनी अहिले एक निजी अस्पतालमा उपचाररत छन् ।

यस्तै धुलिखेलका ५० वर्षीय पुरुषमा डेढ महिनाअघि कोरोना संक्रमण देखियो । उनको पूरै परिवारलाई नै कोरोना संक्रमण भएको थियो । उनमा लक्षणहरु थिएनन् । तर, दोस्रो पटक संक्रमण हुँदा गम्भीर लक्षणहरु देखिए । धुलिखेल अस्पतालका चिकित्सक डा. राम गुरुङले यी दुईबाहेक सो अस्पतालमा हालसम्म ३ जनामा पुनः कोभिड संक्रमण देखिएको दाबी गरे । उनी भन्छन्, ‘दोस्रो संक्रमण हो कि होइन भनेर वैज्ञानिक आधारमा जानुपर्ने हुन्छ तर हामीले क्लिनिकली हेर्दा यो दोस्रो पटक संक्रमण भएको देखिन्छ । अरु देशमा पनि यस्ता केसहरु देखिएका छन् हाम्रोमा नदेखिने भन्ने हुँदैन ।’

विश्वभरि नै कोरोनाको पुनः संक्रमणको बहस चलिराखेका बेला नेपालमा पनि यस्ता फाटफुट्ट केसहरु देखिएका छन् तर आधिकारिक रुपमा भने पुष्टि भएका छैनन् । हङकङका ३३ वर्षीय पुरुषमा सबैभन्दा पहिले दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक मार्च २६ मा कोरोना पुष्टि भएका ती व्यक्तिमा १४२ दिनपछि पुनः कोरोना देखिएको थियो ।

त्यसैगरी ‘दोस्रो पटक’ कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नेदरल्यान्ड्सकी एक महिलाको मृत्यु समेत भएको छ । नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको दोस्रो पटकको कोरोना संक्रमणबाट मृत्यु भएको डच विज्ञहरुको एउटा टोलीद्वारा प्रकाशित लेखमा उल्लेख गरिएको छ । पुनः कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको यो पहिलो घटनाका रुपमा लिएको छ । यो घटनाले कोरोना भाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञहरु बताउँछन् ।

युरोपियन सेन्टर फोर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको एक अध्ययन अनुसार हालसम्म हङकङ, अमेरिका, बेल्जियम, इक्वाडर, भारत लगायतका देशमा कोरोनाको पुनः संक्रमणका ६ केसहरु मात्रै भेटिएका छन् । विश्व स्वास्थ्य संगठनकी इपिडिमियोलोजिस्ट डा. मारिया भ्यान केरकोभ भन्छिन्, ‘हामी अझै पनि संक्रमण र रोग प्रतिरोधात्मक क्षमताको प्रक्रियाबारे बुझिरहेका छाौ । यो कुरा स्पष्ट छैन की इम्युन रेस्पोन्स कति बलियो हुन्छ र यो कति समयसम्म रहन्छ ।’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पुन: संक्रमण मानिसमा फाट्टफुट्ट देखिएको हो । पछि यस्तो संक्रमण बढ्दै जाने हो कि दुर्लभ मात्र हुने हो, तत्काल भन्न सकिँदैन । तर नजरअन्दाज पनि गर्न मिल्दैन । उनी भन्छन्, ‘अध्ययनहरुले यसको एन्टिबडी लामोसमयसम्म रहन सक्दैन भनेर भनेका छन् । पुनः संक्रमण हुँदा त्यही भाइरसले नै आक्रमण गरेको हो कि थोरै परिवर्तन भएर आक्रमण गरेको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यसले खोप निर्माणलाई पनि चुनौती दिन सक्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले कोरोना भाइरसको पुनः संक्रमणको बारेमा पुष्टि गर्नका लागि नेपालमा वैज्ञानिक जर्नलमा प्रकाशित हुन गाह्रो हुने बताए । ‘यो लेख्नलाई पहिलेको पीसीआर पोजिटिभ र लक्षण हराएको नेगेटिभ रिपोर्ट अनि फेरि लक्षण आएको पीसीआर पनि पोजिटिभ आयो भन्ने शंका गरिन्छ । त्यसमाथि अझै विश्वस्त हुन पहिलेको भाइरस र पछिको भाइरस जेनेटिक सिकेन्विसङ गरेर बुझ्नुपर्ने हुन्छ । जुन सुविधा नेपालमा छैन ।’

उनका अनुसार बाहिरजस्तै नेपालमा पनि यी केसहरु भेटिएका छन्, त्यो पनि एकदेखि दुई महिनाको अन्तरालमा । ‘प्राय के भनिन्छ भने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता आयो भने कम्तीमा ३ महिना धान्छ,’ डा अधिकारी भने, ‘तर कसै कसैको एन्टीबडी नै नआउन सक्छ । अरु भाइरल इन्फेक्सनमा पनि ५ देखि १० प्रतिशत मानिसमा एन्टिबडी नै आउँदैन । त्यस्तो मान्छे पुनः संक्रमण भएको हुन सक्छन् ।’

डा. अधिकारीले एन्टिबडी बनेपनि त्यसले कति सुरक्षा गर्छ भन्ने थाहा हुँदैन त्यही अनुसार भाइरसको लोड जति आउँछ फेरि संक्रमण हुनसक्ने बताउँछन् । संक्रमण भएको केसमा पनि पहिले भन्दा दोस्रो पटक गम्भीर लक्षण भएका भेटिएका छन् । एकपटक संक्रमण भयो भने कम्तीमा ३ महिनासम्मको सुरक्षा हुन्छ । यसमा १०० प्रतिशत नै भन्ने हुँदैन । आफूले मास्क लगाउने, हात धुने ,सजग रहने भन्ने कुरा गरिरहनुपर्यो । पुनः संक्रमण हुने सम्भावना कम रहन्छ र भइहाल्यो भने पनि कोही कोही मान्छेमा अलि गम्भीर पनि देखिएको कारणले भने सजग हुन जरुरी हुने डा. अधिकारीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले नेपालको सन्दर्भमा कोभिडको पुनः संक्रमणबारे छलफल भएपनि अध्ययन भने अगाडि नबढाइएको बताए । ‘विश्वमा एकदम थोरै मात्र केस देखिएका छन् । नेपालमा पनि देखियो भन्ने सुन्नमा आएको हो तर अध्ययन भने हालसम्म गरेका भने छैनौं,’ धिमाललाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया