कोरोना भाइरस संक्रमणका कारण एकैदिन ६ जनाको मृत्यु

  साउन २२, २०७७

काठमाडौं, साउन २१ : कोरोना भाइरस संक्रमणका कारण बुधबार मोरङ र पर्सामा २–२, काठमाडौं र सप्तरीमा १–१ गरी ६ जनाको मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा उपचाररत सर्लाही मलंगवा–६ की ६५ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।

एपीएफ अस्पतालका प्रवक्ता डा. प्रवीन नेपालका अनुसार ज्वरो र निमोनियाबाट ग्रस्त हुनुभएकी ती महिलालाई सर्लाहीबाट साउन १६ मा रेफर गरेर स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । उहाँलाई साउन १८ गते कोरोना संक्रमण रहेको पुष्टि भएपछि भोलिपल्ट एपीएफ अस्पताल भर्ना गराइएको थियो ।

पर्सा संवाददाताका अनुसार वीरगन्ज–१५ भिस्वाका ४६ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । यस्तै सोमबार ज्यान गुमाएकी पोखरिया नगरपालिका–९ की १८ वर्षीया किशोरीमा पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

भिस्वाका पुरुषको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुष मधुमेहका बिरामी थिए । अस्पतालमा उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । युवतीको भने पखाला लागेपछि सोमबार उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

उहाँको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको हो । परीक्षणको नतिजा मंगलबार राति आएको हो । पोखरिया–८ स्थायी घर भएकी ती युवती पोखरिया–९ स्थित मामाघरमा बस्दै आउनु भएको थियो । पर्सामा साउनयता मात्र संक्रमणले १४ जनाको मृत्यु भइसकेको छ ।

मोरङ संवाददाताका अनुसार कोसी अस्पतालको आइसोलेसनमा उपचाररत २ जनाको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ र रंगेली नगरपालिका ८ का ४५–४५ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

विराटनगरका पुरुष मंगलबार राति श्वास फेर्न गाह्रो भएर अस्पताल पुगेका थिए । ती पुरुष मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । रंगेलीका पुरुषको भने बुधबार बिहान साढे ९ बजे अस्पताल आइपुग्दा मृत्यु भएको डा. यादवको भनाइ छ । ‘दुवै जनाको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ,’ डा. यादवले भन्नुभयो ।

यस्तै सप्तरीको रुपनी गाउँपालिका–५ गढियामा बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । ती परुष डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उहाँको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो ।

राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड(१९ पुष्टि भएको अस्पततालका प्रमुख डा. रञ्जित झालाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया