ललितपुर महानगरमा स्मार्ट सडकबत्ती जडान शुरु

  साउन १३, २०७७

ललितपुर, साउन १३ : ललितपुर महानगरपालिकाका मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान थालिएको छ । महानगरपालिकाको स्थानीय गौरवको यो आयोजनाको प्रमुख चिरीबाबु महर्जनले मङ्गलबार कुपण्डोलस्थित नबिल बैङ्कअगाडि बत्तीको पोल राख्दै बत्ती जडान उद्घाटन गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट बत्ती जडान गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तहसमेत रहेको दाबी गरिएको छ । महानगरभित्रका तीन वटा मुख्य सडकमा ६६९ वटा बत्ती जडान गर्न लागेको प्रमुख महर्जनले बताउनुभयो ।

उहाँका अनुसार बाग्मती पुलदेखि जावलाखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मङ्गलबजार लगनखेलसम्म र पुल्चोकदेखि मङ्गलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले स्मार्ट बत्ती जडान सोलार बत्तीभन्दा कम खर्चिलो र बढी प्रभावकारी हुने बताउनुभयो । यो योजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रुपियाँ रहेको महानगरले जनाएको छ । स्मार्ट सडकबत्ती परियोजनाकोे गत २०७६ भदौ २ गते नै क्रम्टन–महावीर जेभीसँग भएको महानगरले जनाएको छ । जडान हुने बत्तीहरू क्रम्टन कम्पनीको उत्पादन हुने बताइएको छ ।

परियोजनाको नेपाल विद्युत प्राधिकरणले प्राविधिक सहयोग तथा निरीक्षण गर्ने जनाइएको छ । बत्ती जडानको काम ४५ दिनमा सकिने महानगरले जनाएको छ । स्मार्ट सडक बत्तीलाई सर्भर रुमबाट कम्प्युटरको सहायताले नियन्त्रण गरिन्छ । हरेक पोलमा बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा आउनुपर्दैन ।

महानगरले दोस्रो चरणमा बुङमती, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धीमा पनि यो बत्ती जडान गर्ने प्रमुख महर्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया