हाकिमहरुनै कोट फुकालेर काममा

  साउन १०, २०७७

बेनी, साउन १० : म्याग्दीमा बाढीको वितण्डा पछि अवरुद्ध भएका सडक तथा पुल मर्मतमा अहिले जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरु नै खटिरहेका छन् ।

बेनी–जोमसोम सडक खण्डको गलेश्वर नजिकै रहेको राहुघाट खोलाले बेलिब्रिजको एकापट्टिको बिम गत असार २६ गते राहुघाट खोलाले भत्काएपछि सडक अबरुद्ध भएको छ । उक्त पुल सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, पत्रकार, प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतको टोलीले शुक्रबारदेखि श्रमदान गरी रहेका छन् ।

पुल सञ्चालन गर्न दिउँसो १२ः३० बाट श्रमदान गरिरहेका थिए करिब ४० जनाले । त्यत्तिकैमा दिउँसो १ बजे तिर शिरमा ढाका टोपी सर्ट पाइन्ट अनि कोटमा सजिएर आएका एक व्यक्ति कोट फुकालेर आफ्ना सहयोगीलाई दिनुभयो अनि शुरु गर्नुभयो ढुङ्गा उचाल्न ।

सेना, प्रहरी तथा सशस्त्रका टोली खटी रहेकै ठाउँमा हातमा हात मिलाएर लामबद्ध भएर ढुङ्गा पास गरिरहेको लाममा घुस्नु भयो उहाँ । उहाँ अरु कोही नभएर जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर के.सी. हुनुहुन्थ्यो । जिल्लाका सुरक्षा निकाय तथा पत्रकार समेत उक्त श्रमदानमा भिड्नुभयो ।

उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा बाढी पहिरोबाट भएको क्षति र पिडीतहरुलाई प्रत्यक्ष भेटघाटका लागि पुग्नु भएका के.सी. पुल निर्मणका लागि श्रमदान गर्नका लागि कार्यक्रम छोट्याएर फर्केको बताउनुहुन्छ । उहाँले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली सँगै ढुङ्गा उचाल्न थाल्नुभयो ।

ग्याभिन जाली भर्नका लागि ढुङगा उठाउँदै पास गर्दै गरेपछि केही बेर आराम गर्न बस्नु भएका के.सी.ले भन्नुभयो –‘आफ्नो जिल्ला भित्रको क्षेत्र अनि जनताको प्रत्यक्ष जनजिविका सँग जोडिएको कारणले गर्दा नै यसमा मेरो पनि केही भए पनि योगदान होस भन्ने लाग्यो ।’ सिडिओ साब पनि आउनु भएको थियो अनि मैले पनि आफ्नो तर्फबाट केही भए पनि सहयोग होस भन्नका लागि नै श्रमदान गरेको हुँ,’ संयोजक के.सीले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका निवर्तमान अध्यक्ष सुतर के.सी. पनि नेपाल रेडक्रस सोसाइटीको ज्याकेट लगाएर दिनभर ग्याभिन भर्नमा व्यस्त हुनुभयो । कलम समात्ने हात भनेर चिनिने पत्रकार पनि जनताले पाएको सास्ती सहन नसकी दिनभर पुल उठाउनका लागि ग्याभिन भर्नमा ढुङ्गा उचाल्दै जाली भर्नका लागि सहयोगमै श्रमदान गर्नुभयो ।

के.सी. भन्नुहुन्छ –‘पत्रकारको काम सूचना दिने त हो नै त्यस माथि हामी मानव हौं र हामीमा मानवियता पनि छ, त्यसैले उत्तरी म्याग्दी र मुस्ताङका बासिन्दाका लागि खाद्यान्न ढुवानी अवरुद्ध भएको यो पुल मर्मत गर्दा उहाँहरुलाई सहज हुने हेतुले म खटेको हु ।’

शुक्रबार विहान सदरमुकाम बेनीदेखि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा पुल उठाउन ग्याभिन जाली भर्ने टोली थियो । जिल्लामा रहेका ३ सय भन्दा धेरै प्रहरीलाई काम गर्नका लागि निर्देशन दिने जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरण जंग कुँबर आफ्नै सिपाहीलाई हौसला दिँदै उसै सँग काममा खट्नुभयो । डिएसपी कुँबरले नै प्रहरीको नेतृत्व गर्नु भएको थियो, सशस्त्र प्रहरीका इन्सपेक्टर पुरन न्यौपानेले सशस्त्र एवम् नेपाली सेनाका जमदार विष्णु कार्की नेपाली सेनाको नेतृत्व लिएर कार्यस्थलमा पुग्नुभएको थियो ।

शुक्रबार दिनभरमा ३० थान ग्याभिन जाली भरियो भालि नेकपाका युवा राष्ट्रिय युवा संघ र नेपाली काँग्र्रेसका युवाहरु तरुण दलका युवा पनि खट्ने भनेर जानकारी दिएका छन् – प्रजिअ ढकालले भन्नुभयो । ढकालले थप्नुभयो – गत असार २५ गते देखि अवरुद्ध पश्चिम म्याग्दीको बेनी–दरवाङ सडक बुधबार बेलुकादेखि सञ्चालनमा आएपछि अब बेनी जोमसोम सडकका लागि खटेको छु । प्रजिअ ढकालले आफै प्रहरी तथा सेनाका जवानहरु सँगै हातमा हात मिलाएर ग्याभिन भर्नमा खट्दा जवानहरु पनि उत्साहसाथ काममा खट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया