अध्यक्ष प्रचण्डको ब्रिफिङ- सहमतिको प्रयास जारी छ

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानकाे प्रयास जारी रहेको बताउनुभएको छ । सोमबार बिहान पूर्व नेकपा (माओवादी केन्द्र) का नेताहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएको हो ।

खुमलटार निवासमा पूर्वमाओवादीका स्थायी कमिटी सदस्य तथा अन्य नेताहरूलाई बोलाएर अध्यक्ष प्रचण्डले अहिलेसम्म भएको सहमतिको प्रयास, सचिवालय र दुई अध्यक्षबीचको छलफल र उपलब्धीका बारेमा घण्टौँ छलफल गर्नुभएको पूर्वमाओवादीका नेताहरूले बताउनुभएको छ । तर बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट भने काम विशेषले व्यस्त रहनुभएकाले उपस्थिति नरहेको स्रोतले बतायो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले बिहान भेला भएपनि अहिलेसम्म भएको सहमतिको प्रयासबारेमा अध्यक्ष प्रचण्डले ब्रिफिङ मात्र गर्नुभएको जानकारी दिनुभयो । “बैठक भएपछि अध्यक्षज्यूको कुरा सुन्ने र लागेको सुझाव दिने काम त भइहाल्छ नै, तर मूलतः वार्ता र बैठकमा भएका सहमतिको उपलब्धी र अवस्थाबारे प्रष्ट पार्ने काम अध्यक्षज्यूले गर्नुभयो” नेता गुरुङ्ले भन्नुभयो ।

अध्यक्ष निवासमा हरेक दिनजसो नेताहरूको भेटघाट हुनु सामान्य भएको बताउँदै नेता गुरुङले दुई अध्यक्षबीचको सहमतिको प्रयासलाई सकारात्मकरुपमा लिँदै पार्टी एकतालाई कायम राख्दै सहमति गर्न सुझाव दिइएको बताउनुभयो । “पार्टीभित्र केही समस्या देखिए पनि सहमति जुटाउने प्रयास जारी छ, सहमति गरेरै अगाडि बढिन्छ” अध्यक्ष प्रचण्डले बैठकमा नेताहरूलाई भन्नुभएको गुरुङले जानकारी दिनुभयो । मिडियामा आएकोजस्तो पदको लागि आफू सहमति गर्न लागेको कुरा गलत भएको बताउँदै अध्यक्ष प्रचण्डले अहिले देश र जनताको हितलाई नै ध्यान दिएर आफू काम गरिरहेको बताउनुभएको थियो ।

पार्टीमा गम्भीर समस्या उत्पन्न भएपनि त्यसको व्यवस्थापन गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष प्रचण्डले नेताहरूलाई दिलाउनुभएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच नियमितरुपमा बालुवाटारमा सहमतिका लागि वार्ता र संवाद भइरहेको छ । दुई अध्यक्षबीच सहमति कायम गर्न सहज होस् भनेर पार्टीको स्थायी कमिटी बैठक पटकपटक सारिएको छ । भोलि ६ गते ११ बजेका लागि पनि स्थायी कमिटी बैठक आह्वान गरिएको छ । सोअघि दुई अध्यक्षबीच सहमति हुने विश्वास नेताहरूले लिनुभएको छ ।

तपाईको प्रतिक्रिया