महाकविको घर सङ्ग्रहालय बनाइने

  साउन ०१, २०७७

काठमाडौँ, साउन १ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौँको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

आर्थिक वर्ष ०७६-७७ मा भएका काम र नयाँ आर्थिक वर्ष ०७७÷७८ तय भएका कार्यक्रमबारे जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले सरकारले महाकवि देवकोटाको घरलाई खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि उक्त स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय’ निर्माण गरिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । अबको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै सदस्यसचिव उपाध्यायले निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सङ्ग्रहालय निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेको जानकारी दिनुभयो । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण कार्यलाई प्रतिष्ठानले राष्ट्रिय गौरवको प्राज्ञिक योजनाका रूपमा अगाडि सारेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानले अबको दुई वर्षभित्र सम्पन्न गर्ने गरी आठवटा कार्यलाई राष्ट्रिय गौरवका प्राज्ञिक योजनाका रूपमा अगाडि बढाएको सदस्यसचिव उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपाल दर्पण लेखन, प्रज्ञा नेपाली बृहत् शब्दकोश निर्माण, महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय, नेपाली दर्शनको लेखन र प्रकाशन, लेखक–कलाकार कोषको प्रकाशन, नेपाली कविताको प्रादेशिक इतिहास लेखन र प्रकाशन, लोकवार्ता कोष निर्माण र प्रकाशन, नेपाली समालोचनाको इतिहास लेखन र प्रकाशनलाई प्रतिष्ठानले राष्ट्रिय गौरवका प्राज्ञिक योजनाका रूपमा अगाडि बढाएको हो ।

नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न विशिष्ट योगदान गर्ने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा प्रदान गर्ने गरी तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’, नेपाल बाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरी दुई लाख राशिको ‘भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको जानकारी सदस्यसचिव उपाध्यायले दिनुभयो ।

तपाईको प्रतिक्रिया