स्वीस सरकारले दिएको ३० हजार पीसीआर किट आज आइपुग्ने

  बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ । पीसीआर किटसँगै र त्यति नै परिमाणमा आरएनए एक्सट्रयाक्टस किट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलिया पुगेको नेपाल वायुसेवा निगमको वाइडवडी विमानले बिहीबार बेलुकासम्ममा ती किट काठमाडौ ल्याउने भएको हो । स्वीस सरकारको सहयोगमा आउन लागेको ठूलो परिमाणको किट ल्याउने माध्यम नहुँदा सिंगापुरमै अड्किएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले ती किट बुधबार बेलुका नै विमानमा लोड भइसकेको र बिहीबार बेलुका छ बजेसम्ममा वाइडबडी विमान काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए । उनले भने, ‘किट आएपछि परीक्षण तीब्र रुपमा अगाडि बढ्नेछ ।’

डा. पोखरेलका अनुसार सिंगापुरमा रहेको किटलाई हिजो नै स्थलमार्गबाट मलेसियाको राजधानी क्वालालम्पुर ल्याइएको थियो ।

अष्ट्रेलियाको सिड्नीका लागि चालक दलका सदस्यसहित ३०० यात्रु बोकेर उडेको सो चार्टड विमान क्वालालम्पुरमा रिफ्युलिङ (तेल भर्न) का लागि अवतरण गरेको थियो । त्यसबेला नै किट लोड गरिएको अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया