काठमाडौँ, १९ भदौ : दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिनुभयो ।
पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको उहाँले राससलाई जानकारी दिनुभयो । “अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छ”, उहाँले भन्नुभयो ।
सो ठाउँमा विगतमा पनि पहिरो गएको उहाँले सुनाउनुभयो । पहिरोबाट नजिकैको वस्ती जोखिममा परेको छ । यद्यपि, आजको पहिरोले बस्तीमा क्षति पुगेको छैन । सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ ।
यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको राससले जनाएको छ ।






