जावेदले आफूलाई ऐनामा हेर्नुपर्छ : जिलेस्पी

  २ घण्टा अगाडि

सिड्नी, १९ भदौ : पाकिस्तान क्रिकेट टोलीका पूर्व प्रशिक्षक जेसन जिलेस्पीले राष्ट्रिय टोलीको पछिल्लो अवस्थाका लागि चयनकर्ताका अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताउनुभएको छ ।

पाकिस्तानले इङ्गल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा लगातार दुई हार बेहोरेपछि मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुललाई हटाउनुका साथै सात खेलाडीलाई घर फर्काएको छ । जिलेस्पीले टोली व्यवस्थापनको अस्थिरताले खेलाडीहरू डर र दबाबमा खेलिरहेको देखिएको बताउनुभयो ।

सन् २०२४ मा करिब आठ महिना पाकिस्तानको प्रशिक्षक रहनुभएका जिलेस्पीले चयन प्रक्रियामा स्पष्ट रणनीति नरहेको आरोप लगाउँदै निर्णयहरू बारम्बार परिवर्तन भइरहेको बताउनुभयो । उहाँले पहिलो टेस्टमा कप्तानी गरेका सलमान अली आगालाई दोस्रो टेस्टमा टोलीबाट हटाएर तेस्रो टेस्टअघि घर फर्काइएको घटनाप्रति पनि प्रश्न उठाउनुभयो ।

जावेदले आफू र पाकिस्तानका पूर्व सेतो बल प्रशिक्षक ग्यारी कस्र्टनलाई टोलीको समस्याका लागि दोष दिएको भन्दै जिलेस्पीले त्यसप्रति आपत्ति जनाउनुभयो । “आकिब जावेदले आफूलाई ऐनामा हेर्न आवश्यक छ । उहाँ दुई वर्षदेखि चयनकर्ताका अध्यक्ष हुनुहुन्छ, हामी त्यहाँ नभएको समयमा भएका समस्याको दोष हामीमाथि लगाउनु उचित होइन”, उहाँले भन्नुभयो ।

जिलेस्पीले चयनकर्ताको नेतृत्व र खेलाडीबीच संवादको अभाव रहेको दाबी गर्दै टोलीबाट हटाइएका खेलाडीले आफ्नो अवस्थाबारे परिवार, साथी वा सञ्चारमाध्यमबाट मात्र थाहा पाउनु अपमानजनक भएको बताउनुभयो ।

इङ्गल्यान्डले पहिलो दुई टेस्टमा पाकिस्तानलाई हेडिङ्लेमा एक इनिङ्स र १०३ रन तथा लड्र्समा १९४ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम टेस्ट सेप्टेम्बर ९ देखि एजबस्टनमा सुरु हुनेछ । पाकिस्तानले बाँकी भ्रमणका लागि न्युजिल्यान्डका माइक हेसनलाई मुख्य प्रशिक्षक र अस्ट्रेलियाका एशले नोफ्केलाई बलिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया