भारत जान नदिँदा सीमामा प्रहरीमाथि हातपात

  बैशाख २५, २०७७

बर्दिया, वैशाख २५ : भारततर्फ जान लागेकालाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जनामाथि आक्रमण भएको छ । गुलरिया–१० रत्नापुरनजिक बुधबार उक्त घटना भएको हो ।

चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए । उनीहरूले चौधरीको बर्दी च्यातिदिएका छन् । लगत्तै थप सुरक्षाकर्मी पुगेर चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुलरिया पठाएका थिए ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्दल मल्लाह छन् । पक्राउपछि गाउँबाट १५/२० जनाको हुलले आक्रमणको प्रयास गरेको चौधरीले बताए । वडाध्यक्ष वीरेन्द्र चौधरीले पक्राउ परेकाहरूलाई पछि बुझाउने कागज गरी छुटाएका छन् ।

चारै जना तस्करी गर्ने समूहका सदस्य रहेको प्रहरीले आरोप लगाएको छ । भारतबाट सामान खरिद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार चित्तल्वा जान लागेको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए ।

हुरीले त्रिपाल उडायो
बिहीबार बिहान आएको हुरी–बतासले सीमामा तैनाथ सशस्त्र प्रहरी बलका दर्जनभन्दा बढी त्रिपाल उडाएको छ । करिब दुई घण्टा चलेको हुरी, बतास र पानीले क्याम्पमा बस्न नसकेपछि प्रहरीहरू सुरक्षित स्थानतिर लागेका थिए ।

डेढ घण्टाजति दसगजाको डियुटी छाडेर ओत लाग्नुपरेको उनीहरूको भनाइ छ । जिल्लामा भारतीय सीमातर्फ ९० प्रतिशत घना जंगल भएकाले हावाहुरीमा रूख ढल्ने र चट्याङको जोखिम रहन्छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बर्दियाका आठवटा नगरपालिकाले सीमामा खटिएका सशस्त्र प्रहरीका लागि सुरक्षित पोस्ट बनाइदिने सहमति भएकाले चाँडै बन्ने बताए ।
इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया