कोरोनो भाइरसकाे सम्भावित संक्रमण नियन्त्रणका लागि बागलुङमा सेना परिचालन

  चैत ११, २०७६

पोखरा, चैत ११ : कोरोनो भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लक डाउन कार्यान्वयनमा समस्या भएपछि बागलुङमा सेना परिचालन गरिने भएको छ ।

मंगलबार विहानैदेखि घोषणा गरिएको लक डाउनको सर्वसाधारणबाट अटेर भएको पाइएपछि प्रशासनले त्यसको कडाईका लागि नेपाली सेना परिचालन गर्न लागेको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले सुरक्षा समितिको बैठकपछि बागलुङको अर्जुनबाण गणलाई परिचालन हुन मंगलबार आदेश गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार आफूहरु परिचालित हुने अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले जानकारी दिनुभयो ।

सर्वसाधारणले लकडाउन उल्लंघन गरेपछि जिल्ला सुरक्षा समितिको बैठकमा त्यसको समिक्षा भएको थियो । बैठकलगत्तै प्रमुख जिल्ला अधिकारी सैंजुले ९ बुँदे आदेश जारी गर्नुभयो ।

केही दिन अघि फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक युवतीलाई कोरोनाको संक्रमण पुष्टि भएपछि उनी सवार बिमानबाट नेपाल फर्किएका मध्य केही युवा युवती बागलुङका समेत भएको पाइएपछि लक डाउनलाई कडाई गर्न थालिएको हो ।

तपाईको प्रतिक्रिया