दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द

  चैत १०, २०७६

दाङ, चैत १० : कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको हो ।

बन्द गरिएका नाकामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, डगमारा, गुरुङ, भैसाही सिरिया, भौरिसाल, मुन्सीलगायतका ठूला–साना गरी २६ नाका छन् । स्थिति सहज नहुँदासम्म ती नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी निगरानी बढाइरहेका छन् । यसअघि कोइलावास नाकामा भने जनस्वाथ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको थियो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ ले कोभिड–१९ को सङ्क्रमणबाट बचाउनका लागि भन्दै वडावासीलाई निःशुल्क रुपमा कपडाको मास्क वितरण गरेको छ । तुलसीपुर बजारमा रहेको वडा कार्यालयबाट दुई हजार मास्क वितरण गरेको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ५ तुलसीपुर बजारको मुख्य क्षेत्रमा पर्ने भएकाले यहाँ बढी भीडभाड हुने भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सतर्कताका लागि आज पहिलो चरणमा दुई हजार मास्क वितरण गरिएको हो ।

यसैबीच तुलसीपुर बजारसहित दाङका बजारमा स्यानिटाइजर र सर्जिकल मास्क भने अभाव छ । यहाँका स्वास्थ्य संस्थामा काम गर्नेदेखि सबैले कपडाका माक्स लगाएर काम गर्दै आएका छन् । सर्वसाधारण स्यानिटाइजर किन्नका लागि यहाँका विभिन्न औषधि पसल तथा अन्य पसलहरुमा जान्छन् तर नपाएर रित्तै फर्कने गरेका छन् ।

तपाईको प्रतिक्रिया