वासिङ्टन, ४ भदौ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।
सम्भावित भेटको समय र स्थान भने खुलाइएको छैन । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा किमसँग भेट गर्ने सम्भावना खोजिरहनुभएको छ । ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गर्नुभएको थियो । दुवै नेताबिचको अन्तिम भेट सन् २०१९ मा भएको थियो ।
ट्रम्पले प्योङयाङसँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको बताउनुभएको छ । तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु-ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताउनुभएको छ । अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन ।
ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नु आवश्यक रहेको बताउँदै उत्तर कोरियासँग भने आफूले राम्रो सम्बन्ध कायम गरेको उल्लेख गर्नुभएको छ । दक्षिण कोरियाका रक्षामन्त्रीले अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रयासबाट पछि नहटेको बताउनुभएको छ । राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताउनुभएको छ ।
यसअघि ट्रम्पले किमसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो । पहिलो कार्यकालमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियामाथि ‘फायर एन्ड फ्युरी’ को चेतावनी दिनुभएका उहाँले पछि दुवैबिच सम्बन्ध सुधारिएको बताउनुभएको थियो । उच्चस्तरीय भेटले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रमबारे ठोस प्रगति भने हुन सकेको थिएन ।
यसैबिच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबिच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताउनुभएको छ । उहाँले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबिचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि समाप्त गर्ने घोषणा गरेपछि आएको हो ।
पेन्टागनले अभ्यास अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कुनै कमी नआउने बताएको छ । उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ । दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गर्दै आएको अवस्थामा ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारी र सैन्य अभ्यास सम्बन्धी पछिल्ला कदमलाई अमेरिका-उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ । (रासस/एएफपी)






