आलमगीर राष्ट्रपति बन्ने सम्भावना

  ३ घण्टा अगाडि

ढाका, ४ भदौ : बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि देशको २३ औँ राष्ट्रपति बन्ने सम्भावना छ ।

अठहत्तर वर्षीय आलमगीरले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको राष्ट्रपतिका लागि दिउँसो हुने मतदानमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ । उहाँले मङ्गलबार आफूले राष्ट्रपतिको जिम्मेवारी पाउने कहिल्यै नसोचेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिनुभएको थियो ।

उहाँले राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् २०२४ को जनआन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बिएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो । त्यसपछि हसिनाका निकट सहयोगीका रूपमा चिनिनुभएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

छयत्तर वर्षीय साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिनुभएको थियो । उहाँ सन् २०२३ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो । हसिना अहिले भारतमा बस्दै आउनुभएको छ । उहाँले ढाकामा आफूविरुद्ध चलेको मुद्दामा उपस्थित हुन अस्वीकार गर्नुभएको थियो । गत नोभेम्बरमा अदालतले उहाँलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।

अधिकारवादी संस्थाले हसिना नेतृत्वको सरकारमाथि विपक्षीको हत्या, राजनीतिक दमन, न्यायिक प्रक्रियामा हस्तक्षेप र एकतर्फी निर्वाचनलगायतका आरोप लगाउँदै आएका थिए । आलमगीरको प्रतिस्पर्धा जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ओली अहमदसँग हुँदैछ । संसदमा मतदान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे सुरु हुने अपेक्षा गरिएको छ ।

-लामो राजनीतिक यात्रा-
२६ जनवरी १९४८ मा जन्मिनुभएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उहाँ प्रमुख विद्यार्थी नेतामध्ये एक हुनुहुन्थ्यो । उक्त आन्दोलन सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र हुने दिशाको महत्त्वपूर्ण आधार बनेको थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया