कोरोना प्रभावित इटाली र इरानबाट भारतीयको उद्धार

  चैत ०२, २०७६

नयाँदिल्ली, चैत २ : भारतीय अधिकारीले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् ।

कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् ।

भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थीसमेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिनुभएको छ । विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उहाँले बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोविड–१९ लाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो । इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । दुइवटा एयर इन्डिया डानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

यसैबीच, कोविड–१९ बाट भारतमा सङ्क्रमितको सङ्ख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोनाकै कारण दुई व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् ।

कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपाय अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्था र सिनेमा घर मार्च ३१ सम्म बन्द गरिएका छन् । अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया