सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा

  २ घण्टा अगाडि

बेलग्रेड, १२ असोज : सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ ।

वुसिकले अक्टोबर २५ मा हुने प्रारम्भिक संसदीय निर्वाचनमा आफ्नो सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी ९एसएनएस० को नेतृत्व गर्न राष्ट्रपति पद छाड्नुभएको हो । उहाँको दोस्रो राष्ट्रपतीय कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो । सर्बियाको संविधानले राष्ट्रपतिलाई तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ ।

सन् २०१२ देखि सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलनबीच आगामी निर्वाचनमा चुनौती सामना गरिरहेको छ । सन् २०२४ नोभेम्बर १ मा नोभी सादस्थित रेल स्टेसनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि विद्यार्थीले घटनाको जिम्मेवारी निर्धारण र न्यायको माग गर्दै प्रदर्शन सुरु गरेका थिए । पछि उक्त आन्दोलन भ्रष्टाचार अन्त्य र कानुनी शासनको मागसहितको व्यापक अभियानमा परिणत भएको हो ।

राजीनामा घोषणा गर्दै वुसिकले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएको बताउनुभयो । राष्ट्रपति भवनबाहिर समर्थकलाई सम्बोधन गर्दै उहाँले आफू भविष्यप्रति आशावादी रहेको र नयाँ राजनीतिक विजयको अपेक्षा गरेको बताउनुभयो ।

वुसिकले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारीले विद्यार्थी आन्दोलनको सामना गरिरहेको आफ्नो पार्टीलाई निर्वाचनमा बलियो बनाउन खोजेको देखिएको छ । पछिल्लो समय उहाँले सरकार समर्थक सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा देशका विभिन्न भागको भ्रमण गरी सडक उद्घाटन, सहायता रकम तथा सस्तो औषधि वितरण र मतदातासँग भेटघाट गर्दै आउनुभएको छ ।

राष्ट्रपति पदबाट वुसिकले राजीनामा दिएपछि संसद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एना ब्रनाबिक कार्यवाहक राष्ट्रपति बन्नुहुनेछ । वुसिकका अनुसार संविधानबमोजिम ९० दिनभित्र प्रारम्भिक राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गर्नुपर्नेछ ।

वुसिक र उहाँको पार्टीमाथि भ्रष्टाचार, सङ्गठित अपराधसँग सम्बन्ध तथा आलोचनात्मक सञ्चारमाध्यममाथि दबाब दिएको आरोप लाग्दै आएको छ । स्वतन्त्र सामाजिक अनुसन्धान ब्युरोले सार्वजनिक संस्थाको दुरुपयोग गरेको आरोपमा उहाँविरुद्ध उजुरीसमेत दिएको छ । वुसिकले भने ती आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

विद्यार्थी समर्थित चुनावी सूचीमा प्राध्यापक, शिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रका विज्ञ र अन्य व्यक्तिलाई समेटिएको छ । विद्यार्थी समूहले कानुनी शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको छ । वुसिकको एसएनएस, समाजवादी पार्टी, युरोपेली सङ्घ समर्थक विपक्षी गठबन्धन तथा अन्य साना राजनीतिक समूह निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

राष्ट्रपति पद छाड्नुअघि आफूले ४९ जनालाई माफी दिएको वुसिकले बताउनुभएको छ । तीमध्ये २३ जना विरोध प्रदर्शनका क्रममा मुद्दा चलाइएका व्यक्ति रहेको उहाँको भनाइ छ । उहाँले आफ्ना विरोधी तथा आलोचनात्मक सञ्चारमाध्यममाथि विदेशी प्रभावमा राज्यलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आउनुभएको छ । आइतबार उहाँले विदेशी शक्ति तथा देशभित्रका अज्ञात व्यक्तिले निर्वाचनको रात अशान्ति फैलाउने योजना बनाएको दाबीसमेत गर्नुभयो ।

युरोपेली सङ्घ (इयु) को सदस्य बन्ने सर्बियाको प्रयासमा पनि विभिन्न चुनौती देखिँदै आएका छन् । युक्रेनमा रुसको युद्धलाई लिएर रुसमाथि लगाइएका प्रतिबन्धमा सर्बिया सहभागी हुन अस्वीकार गर्दै आएको विषयलाई इयु सदस्यता प्रक्रियाको एउटा चुनौतीका रूपमा लिइएको छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया