गाजा, १२ असोज : गाजा पट्टीमा आइतबारदेखि जारी इजरायली आक्रमणमा कम्तीमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अल जजिराले स्थानीय चिकित्सा स्रोतलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।
पछिल्लो घटनामा गाजा सहरको उत्तरमा रहेको तवाम क्षेत्रमा इजरायली सेनाले गोली प्रहार गर्दा एक प्यालेस्टिनीको मृत्यु भएको एम्बुलेन्स तथा आपत्कालीन सेवाका अधिकारीले बताएका छन् । दक्षिणी गाजाको खान युनूसमा इजरायली गोली प्रहारबाट घाइते भएका अर्का एक प्यालेस्टिनीको नासेर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अल जजिराले जनाएको छ ।
यसअघि दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा रहेको अस्थायी शिविरमा ड्रोन आक्रमण हुँदा एक जना र गाजा सहरको पश्चिमी क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा अर्का एक जनाको मृत्यु भएको जनाइएको छ ।
यसैबीच, इजरायलले सेप्टेम्बर २३ मा दक्षिणी गाजाको खान युनूसमा गरिएको लक्षित कारबाहीमा हमासको वित्त विभागका प्रमुख मुहम्मद अबु अलवान मारिएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त विज्ञप्तिमार्फत इजरायली डिफेन्स फोर्स ९आईडीएफ० र इजरायली सुरक्षा एजेन्सीको संयुक्त कारबाहीमा अबु अलवान मारिएको बताएका छन् ।
विज्ञप्तिमा इजरायली नेतृत्वले हमासका कमान्डर तथा कार्यकर्ताको खोजी, उसको वित्तीय स्रोतमा कारबाही र संरचना नष्ट गर्ने अभियान जारी राख्ने जनाएको छ । नेतान्याहु र काट्जले हमासलाई आफ्नो शक्ति पुनर्निर्माण गर्न नदिने र गाजामा हमासको अस्तित्व रहेसम्म कारबाही नरोक्ने बताएका छन् ।
इजरायलका अनुसार अबु अलवान हमासको वित्तीय संरचनामा महत्वपूर्ण भूमिकामा थिए । इजरायली सेनाले उनले हमासका विभिन्न शाखाका लागि बजेट व्यवस्थापन तथा रकम स्थानान्तरणमा भूमिका खेलेको दाबी गरेको छ । यी विवरणहरू इजरायली पक्षबाट सार्वजनिक गरिएका दाबी हुन् । (रासस/एएनआई)






