पूर्वी कङ्गोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  ८ घण्टा अगाडि

बुकाभु (कङ्गो), ११ असोज : पूर्वी कङ्गोको किभु तालमा व्यापारी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।

दक्षिण किभु प्रान्तको इड्ज्वी क्षेत्रनजिक शनिबार राति दुर्घटना भएको हो । दुर्घटनाका बेला डुङ्गामा ५० भन्दा बढी व्यक्ति सवार रहेको किशेके गाउँका प्रमुख फेलिक्स हाबिरागीले बताउनुभएको छ ।

उहाँका अनुसार हालसम्म करिब १५ जनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।

स्थानीय प्रशासक मुहिन्डो नताम्बुका पास्कलका अनुसार उक्त डुङ्गाले इड्ज्वी टापुको बुविनाबाट बोजातर्फ माछा व्यापारी तथा विभिन्न सामान ओसारपसार गरिरहेको थियो ।

कङ्गोमा डुङ्गा दुर्घटनाबाट हुने मानवीय क्षति बारम्बार हुने गरेको छ । एक करोडभन्दा बढी जनसङ्ख्या भएको कङ्गोमा नदी र ताल यातायातका प्रमुख माध्यम भएकाले यस्ता दुर्घटना हुने गरेका छन् । (रासस/एपी)

तपाईको प्रतिक्रिया