नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण देखियो

  माघ १३, २०७६

बेइजिङ, १३ माघ – नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको छ । यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । ल्याब टेष्टका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यस्तै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले ८१ जनाको मृत्यु भएको र झण्डै तिन हजार जना सङ्क्रमित भएको जानकारी दिएको छ । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।


सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरू अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।

नेपालले पनि प्रभावित बुहान क्षेत्रका आफ्ना नागरिकलाई सुराक्ष्ति स्थानबाट एयर लिफ्ट गरेर ल्याउने नेपाल सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

तपाईको प्रतिक्रिया