पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन व्यापार मेलामा

  पुष १८, २०७६

पोखरा, १८ पुस (रासस) : पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ ।

मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरू पनि मेलामा प्रदर्शन तथा बिक्रीका लागि राखिएको बताउनुभयो ।

४० को दशकमै पहिलो पटक पोखरामा व्यवस्थितरूपमा मेला आयोजना गरेको भन्दै सङ्घले २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस्करणबाट उद्यमशीलता वृद्धि तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको जिकिर गरेको छ । देशभर मेला र महोत्सव आयोजना गर्ने लहर चले पनि पोखरामा आयोजना हुने व्यापार मेला तीभन्दा फरक रहेको दावी गर्दै महासचिव पोखरेलले मेला नाफामूलक नभई सहभागितामूलक भएको बताउनुभयो ।

मेलाको प्रवेश टिकट सर्वसाधारणका लागि ६० र विद्यार्थीका लागि ४० रुपैयाँ राखिएको छ । टिकट काटेबापत नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँ ब्यालेन्स भएको नेपाल टेलिकमको प्रिपेड सिम दिइने व्यवस्था मिलाइएको सङ्घका उपाध्यक्ष तथा प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो ।

सिमकार्डका लागि एउटा फोटो र नागरिकताको फोटोकपी पनि साथै ल्याउन आग्रह गर्दै उहाँले यो योजनालाई टिकटमा खर्चेको पैसा फिर्ता भएको मान्दा पनि हुने उल्लेख गर्नुभयो । प्रवेश टिकटमा दैनिक एकजनालाई भाग्यशाली चिठ्ठामार्फत प्याराग्लाइडिङको व्यवस्थासहित अन्य आकर्षक उपहार र बम्पर उपहार पनि राखिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया