काठमाडौं, चैत १ : नेकपा (एमाले) का झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेताहरुले गत शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।
निर्वाचन आयोगको नाममा लेखिएको सो पत्रमा सो पक्षका ११ जना नेताको हस्ताक्षर रहेको छ । पत्रमा भनिएको छ, “केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको काम विधान विपरित छ ।” आफूहरुलाई बैठकबारे जानकारी नगराई निर्णय गराएको भन्दै त्यसको कार्यान्वयन नगर्न उहाँहरुको आग्रह छ ।
सो कदम पार्टी एकतामाथि आघात पु-याउने रहेको आरोप लगाउँदै सो पक्षका नेताहरुले निर्णयलाई बैधानिकता नदिन आयोगसँग माग गर्नुभएको छ । आयोगलाई बुझाइएको पत्रमा झलनाथ खनाल, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीमबहादुर रावल, घनश्याम भुषाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्योपाने र सुरेन्द्र पाण्डेको हस्ताक्षर रहेको छ ।