कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन गरिने, संक्रमितलाई अलग्गै व्यवस्था

  कार्तिक ०६, २०७७

काठमाडौँ, कात्तिक ६ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।

मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ ।

जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

यस पटक विद्यार्थीलाई होमसेन्टरको सुविधा दिइने भएको छ । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा लिइने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि गत वैशाखका लागि तय गरिएको परीक्षा कार्यक्रम सरकारले स्थगित गरेको थियो । 

कोरोना संक्रमितलाई अलग्गै व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।

बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड–१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।

यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट गणना गरिनेछ । बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षा गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ ।

लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

तपाईको प्रतिक्रिया