काठमाडौं, असोज २९ : कोरोना संक्रमणबाट बिहीबार देशभर २६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ७ जनाको मृत्यु भएको छ ।
सुनसरीको धरान–७ की ६३ वर्षीया महिला, धरान–१५ का ६१ वर्षीय पुरुष, धरान–९ की ४४ वर्षीया महिला र ५८ वर्षीय पुरुष, इटहरी–२० की ७५ वर्षीया महिला, तेह्रथुमका ३१ वर्षीय पुरुष र तेह्रथुमकै दाङपा–१ का ४९ वर्षीय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताउनुभयो ।
धरान–१५ का ६६ वर्षीय पुरुष र मोरङको विराटनगर–४ का ५० वर्षीय पुरुषको बुधबार राति कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । यस्तै, विराट नर्सिङ होममा सुन्दरहरैंचा–५ की ४० वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सिरहाको लहान–६ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वास समस्या भएर असोज २५ गते अस्पताल भर्ना भएका उनलाई भोलिपल्ट कोरोना पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो ।
बुधबार बिहान स्वाब दिएपछि साँझ घरमै मृत्यु भएका मकवानपुरको हेटौंडा–९ का ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । हेटौंडा–९ कै ६८ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभयो ।
एक महिनादेखि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचाररत काभ्रेको बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले बताउनुभयो । मधुमेहको समेत समस्या भएका उहाँ भदौ २७ गतेदेखि उपचाररत थिए । मिर्गौलासम्बन्धी समस्या भएका बनेपाका ७७ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भई दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा अर्घाखाँचीको भूमिकास्थान–९ ढिकुराका ७३ वर्षीय पुरुषको बिहीबार बिहान बाटोमै मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै, कोरोना विशेष अस्पताल रूपन्देहीको बुटवल–७ की ७० वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो, श्वासप्रश्वास र निमोनियामा समस्या भएकी उहाँको भेन्टिलेटरमा उपचार गरिएको थियो ।
रूपन्देहीकै कञ्चन–१ का ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप, मिर्गौला र मुटुसम्बन्धी समस्या भएका ती पुरुषलाई कोरोना पुष्टि भएको भोलिपल्ट बुधबार अस्पताल भर्ना भएका थिए । कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ ।
उहाँलाई नगरपालिकाको आइसोलेसन सेन्टरबाट थप उपचारका लागि बुधबार राति भैरहवास्थित भीम अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, काठमाडौंमा ४ जना, भक्तपुरमा २ र ललितपुरमा १ जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
६९ प्रतिशत निको भए
बिहीबार देशभर १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको छ । यो संक्रमणको दर २२.५८ प्रतिशत हो । बिहीबार कुल संक्रमणको १४.५९ प्रतिशत प्रदेश १ मा, ३.०९ प्रतिशत प्रदेश २ मा, ६१.८२ प्रतिशत वाग्मतीमा, ३.४६ प्रतिशत गण्डकीमा, १०.४८ प्रतिशत लुम्बिनीमा, २.६४ प्रतिशत कर्णालीमा र ३.८९ प्रतिशत सुदूरपश्चिममा संक्रमित देखिएका छन् ।
उपत्यकामा भने बिहीबार १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको छ । देशभर देखिएको कुल संक्रमितको यो ५४.२९ प्रतिशत हो । हालसम्म १ लाख २१ हजार ७ सय ४५ संक्रमित भएकोमा ८४ हजार ५ सय १८ अर्थात् ६९.४ प्रतिशत निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।