समन्वय नहुँदा दर खल्लो

  भदौ ०५, २०७७

काठमाडौँ, भदौ ५ : काठमाडौँ उपत्यकामा बिहीबारदेखि जारी साताव्यापी निषेधाज्ञाको पहिलो दिन अत्यावश्यकीय खाद्यान्न, तरकारी, औषधि किनबेचमा समस्या भयो । पसल खोल्ने र उपभोक्ता किनमेलका लागि सम्बन्धित निकायबीच समन्वय नहुँदा तिजको दरखाने दिन खल्लो जस्तै भयो ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त बैठकले यस अवधिमा औषधि, खाद्यवस्तु वा अत्यावश्यकीय वस्तुको खरिद वा कामका लागि घर बाहिर निस्कनेलाई प्रशासनले नरोकेको स्पष्ट पारेको भए पनि कार्यान्वयनमा समस्या भयो ।

अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर निस्कन भने स्वास्थ्यको जोखिमलाई ध्यानमा राखी प्रशासनले रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रशासनले अति आवश्यकीय सामान खरिद वा बिक्रीका लागि समय निर्धारण नगरिएको स्पष्ट गर्नुभयो ।

तर प्रमुख जिल्ला अधिकारी दाहालले भने जस्तो भएन । आमनागरिक औषधि किन्नका लागि औषधि पसलसम्म जाँदा घर नजिकको सडक चोकमै प्रहरीले रोकेको गुनासो पाइएको छ । कीर्तिपुर बस्ने विकास काफ्लेले बिरामी आमालाई औषधि किन्न कलङ्की जाँदै गर्दा बाटैबाट प्रहरीले फर्काइदिएको बताउनुभयो ।

काफ्लेले जस्तै कीर्तिपुर ट्याङ्ला फाँटमा बस्ने कविता राउतले आफ्नो छ महिनाको छोरोलाई दूूध किन्न नपाएको गुनासो गर्नुभयो । सधैँ दूूध किन्ने डेरी ७ बजे नै बन्द भएपछि मेडिकलबाट ल्याक्टोजिन खुवाउनु परेको गुनासो उहाँले गर्नुभयो । उहाँले प्रशासनले अत्यावश्यकीय वस्तु किन्न वा बिक्री गर्न नरोकेको भन्ने समाचार सुने पनि व्यवहारमा त्यस्तो नभएको अनुभव सुनाउनुभयो ।

काठमाडौँका सहायक जिल्ला प्रमुख अधिकारी तुलसीराम पौडेलले औषधि किन्न जानेलाई प्रहरीले रोक्यो भन्नेमा सत्यता एक प्रतिशत पनि नभएको दाबी गर्नुभयो । उहाँल औषधि किन्न जानेसँग कि बिरामी हुन्छ कि त चिकित्सकले औषधिका लागि लेखेको कागज त देखाउन सक्नुप¥यो नि । बिनाबिरामी र कागज हिँडनेलाई औषधि किन्न भनेर कसरी विश्वास गर्ने ? प्रशासनले कडा गरेको आम नागरिककै सुरक्षाका लागि हो सबैले सहयोग गर्नुपर्छ भन्नुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि एक सातासम्म निषेधाज्ञा लागू गरिएको छ । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर उपत्यकामा रहेका तीनवटा जिल्ला प्रशासनको संयुक्त बैठकले एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

तपाईको प्रतिक्रिया