घोराही, ९ कात्तिक : अन्य खेतीको तुलनामा सजिलो र राम्रो आम्दानी हुने भएपछि दाङमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । अहिले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।
गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । आइएससी तहमा कृषि सङ्कायअन्तर्गत वनस्पति विज्ञान अध्ययन गर्नुभएका उहाँले चाडपर्वलाई लक्षित गरी १० कठ्ठा जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ ।
“पहिलो वर्ष परीक्षणका रूपमा खेती गरेँ । राम्रो नतिजा आएपछि नियमित रूपमा खेती गर्दै आएको छु”, रावतले भन्नुभयो, “यो वर्ष तिहारअघि नै रु २० देखि २५ हजारसम्मको फूल र माला बिक्री गरिसकेको छु ।”
फूलखेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म बचत गर्न सफल भएको उहाँले बताउनुभयो । अहिले फूल प्रतिकिलो रु २५० देखि ३०० सम्म र एउटा माला रु ४०० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।
धान र गहुँ खेतीभन्दा फूलखेतीमा कम खर्च लाग्ने र लगानीअनुसार राम्रो मूल्य पाइने रावतको अनुभव छ । चाडपर्वका बेला भारतबाट फूल आयात हुने भएकाले त्यसलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
“विदेश गएर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ”, उहाँले भन्नुभयो । फूलमा आत्मनिर्भर बन्न स्थानीय सरकारले पुष्प कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ ।
रावतले सयपत्री फूलखेतीसँगै विभिन्न तरकारी र तरकारीका बेर्ना उत्पादन गरी बिक्रीसमेत गर्दै आउनुभएको छ । दाङका १० वटै स्थानीय तहमा फूलखेती गर्ने किसान रहेको र पछिल्ला वर्षमा व्यावसायिक फूलखेतीप्रति आकर्षण बढ्दै गएको राससले जनाएको छ । फूलखेतीको प्रवर्द्धनका लागि स्थानीय सरकारले थप पहल गर्नुपर्ने राससमा उल्लेख छ ।






