काठमाडौँ, ९ कात्तिक : साविक विजेता लुम्बिनी लाइन्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराउँदै शानदार सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटियो । लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै सात विकेट लिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १५ रनमा अविजित रहे ।
लक्ष्य पछ्याउने क्रममा डार्सी सर्टले १८ बलमा चार चौका र तीन छक्कासहित ४० रन बनाए । आसिफ शेखले ३२ रनको योगदान दिएपछि लुम्बिनीले सहज जित हासिल गर्यो ।
गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो । एनपिएलमा मङ्गलबार विराटनगर किङ्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुनेछ ।






