काठमाडौँ, ६ कात्तिक : अनुकूलन कोष (एडाप्टेसन फन्ड) को ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ ।
अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन, प्रकृतिमा आधारित समाधान प्रवर्द्धन गर्न तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैठकमा नेपालका तर्फबाट शर्माले सहभागिता जनाउनुभएको थियो ।
बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता बढाउने र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ परियोजनाको पूर्व–अवधारणापत्र पनि स्वीकृत भएको छ । स्रोतमा उल्लेख भएअनुसार यस परियोजनाको प्रस्तावित बजेट ३० करोड अमेरिकी डलर रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्रसमेत स्वीकृत भएको छ ।
यसैबीच, भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आगामी बोर्ड बैठकमा छलफल हुने भएको छ । ४७औँ बैठकमा समय अभावका कारण यस विषयमा निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल तथा निर्णयका लागि एजेन्डा स्वीकृत गरिएको जनाइएको छ ।
उक्त पहलले भोटेकोशी विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको राससले जनाएको छ ।






