काठमाडौँ, ६ कात्तिक : काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालक कारबाहीमा परेका हुन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी कारबाहीमा परेका चालकहरूमध्ये ५९ जना सार्वजनिक सवारीका चालक हुन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिनुभयो ।
मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।
चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र मापसे तथा लापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।






