रसुवा, ६ कात्तिक : भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ ।
गत भदौ १० गते आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै सर्वसाधारणका नागरिकतासहित महत्त्वपूर्ण कागजात हराएका वा नष्ट भएका थिए । नागरिकता नहुँदा राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा समस्या नहोस् भन्ने उद्देश्यले होल्डिङ सेन्टरबाटै सेवा दिन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड गाउँपालिकाको पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमै आवेदन फाराम सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण र नागरिकता छपाइपछि प्रतिलिपि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई नागरिकताको प्रतिलिपि उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसहितको टोलीले स्थलगत रूपमा आवश्यक विवरण सङ्कलन तथा कागजात मिलाउने काम गरेको छ । आवश्यकताअनुसार अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराइने गाउँपालिकाले जनाएको राससमा उल्लेख छ ।






