पाकिस्तानका कप्तान फरहान कर्णाली याक्समा अनुबन्ध

  १२ घण्टा अगाडि

काठमाडौँ, ६ कात्तिक : पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज सामाजिक सञ्जालमार्फत फरहानलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

सन् २०२६ को टी–२० विश्वकपमा सर्वाधिक रन बनाएका फरहानले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए । यो पुरुष टी–२० विश्वकपको एकै संस्करणमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो ।

३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् ।

फरहानले यसअघि लङ्का प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बङ्गलादेश प्रिमियर लिग खेलिसकेका छन् । एनपिएल उनको चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका हुसेन तलत तथा बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । फरहानलाई टोलीमा स्वागत गर्दै कर्णाली याक्सले सामाजिक सञ्जालमा जानकारी दिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया