सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  ४ घण्टा अगाडि

काठमाडौँ, १५ असोज : सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन, कच्चापदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसम्मिलित कार्यदल गठनको निर्णय भएको हो ।

ल्लाहकार डा अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाइ तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समितिको विकासका लागि जडीबुटीको दिगो सङ्कलनका साथै सम्बन्धित विभिन्न निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्नेछ ।”

डा अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको सङ्ख्या बढाउने र आगामी दिनमा विदेशमा पनि निर्यात गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चापदार्थका रूपमा रहेको जडीबुटी सङ्कलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कच्चा पदार्थको सदुपयोगका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरणका साथै कानूनमा पनि सुधार आवश्यक छ, त्यसका लागि चाँडोभन्दा चाँडो काम गर्नुपर्ने छ, औषधिजन्य वनस्पतीको खतीदेखि सङ्कलन र उपभोगसम्म स्पष्ट कानून निर्माणमा ढिलाइ गर्न हुँदैन ।”

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधिका लागि आवश्यक कच्चापदार्थको सङ्कलन र उपयोगका सम्बन्धमा मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताउनुभयो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी सङ्कलनका लागि सरोकारवालाबीच समन्वय र कानूनी स्पष्टताको आवश्यकता औँल्याउनुभयो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउनका लागि किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’ मा जानुपर्नेमा जोड दिनुभयो । उहाँले जडीबुटी कम्पनीहरूसँग पनि बढीभन्दा बढी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदको उत्पादनमा कच्चापदार्थ नै मुख्य समस्या रहेको बताउनुभयो । उहाँले जडीबुटीको उत्पादन ठूलो मात्रामा गर्न सकियो भने मात्रै कम्पनीको विकास गर्न सकिने उल्लेख गर्नुभयो । साथै कच्चा पदार्थमा मूल्य समर्थन निर्धारण गर्ने हो भने सङ्कलनमा सहज हुने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा भएको जडीबुटी सङ्कलन र उपभोगका लागि विभिन्न कानूनमा सुधारको आवश्यकता औँल्याउनुभयो । कानुनले सामुदायिक वनबाट सालको पात टिपेर दुनाटपरी पनि बनाउन नमिल्ने अवस्था भएकाले कानुनमा सुधार जरुरी भएको उहाँको भनाइ छ ।

वनस्पती विभागका महानिर्देशक डा सञ्जिवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुनहरू परिमार्जन गर्नुपर्ने बताउनुभयो । छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया