काठमाडौँ, २९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा समेटियो ।
चितवनका उसामा मिरले अविजित २८, कामिल मिश्राले २५ र कुशल मल्लले १८ रन बनाउनुभयो । कर्णालीका हुसैन तलातले तीन तथा पवन सर्राफ र मार्क वाटले दुई–दुई विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । हुसैन तलातले अविजित ५१ र अरिफुल इस्लामले ३५ रन बनाउनुभयो ।
जितसँगै कर्णालीले लिग चरणको यात्रा सुखद रूपमा टुङ्ग्याएको छ । तर, कर्णाली प्लेअफमा पुग्न सकेन भने चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।






