स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य

  २ घण्टा अगाडि

काठमाडौँ, २९ कात्तिक : स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार अब बीमितले बोर्डको आधिकारिक एचआईबी ई–पोर्टलमा प्रवेश गरी पुरानो बीमा विवरण हेर्न र परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक गर्नुपर्नेछ । त्यसपछि मात्र नवीकरण प्रक्रिया अघि बढाउन सकिनेछ ।

नयाँ व्यवस्थाअनुसार बीमितले दर्ता सहयोगीको सहायता नलिई आफैँ अनलाइनमार्फत विवरण अद्यावधिक गर्न सक्नेछन् । यसबाट बीमाको अभिलेख व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन तथा दोहोरो विवरण हटाउन सहयोग पुग्ने बोर्डले जनाएको छ ।

हाल स्वास्थ्य बीमामा एक करोड नौ लाख व्यक्ति आबद्ध रहेकामा ७६ लाखले नवीकरण गरेका छन् । बीमामा आबद्ध करिब साढे १३ लाख ज्येष्ठ नागरिकमध्ये केहीको मृत्यु भइसकेको हुन सक्ने तर विवरण अद्यावधिक नहुँदा वास्तविक अवस्था पहिचान गर्न कठिनाइ भइरहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

केवाईसी विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएकाले बीमितको पहिचान प्रमाणीकरण र वास्तविक लाभग्राहीको विवरण अद्यावधिक गर्न थप सहज हुने बोर्डको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया