यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

  २ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले जारी गरेको पछिल्लो सडक अवस्थाबारे अद्यावधिकअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् जवाङखोला र कमेरेभीर क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

बाढीको सम्भावनालाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ । १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न दिइने तथा दिउँसो सडकको अवस्था हेरेर मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक क्षति पु¥याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना नभएसम्म बन्द रहेका छन् ।

यसैगरी, नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाएपछि काठमाडौँ–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ । अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया