इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी

  ४ घण्टा अगाडि

तेहरान, १२ भदौ : इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिनुभएको छ । उहाँले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताउनुभएको छ ।

इरानी समाचार संस्था आइआरआइबीका अनुसार अल–मनारसँगको अन्तर्वार्तामा रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘नरकमा पठाउने’ चेतावनी दिनुभयो । उहाँले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराको हत्या गर्ने इरानी षड्यन्त्रसम्बन्धी गलत सूचना फैलाएर ट्रम्पको निर्णय प्रक्रियामा प्रभाव पारेको आरोपसमेत लगाउनुभयो ।

लेबनानमा इजरायलसँग पुनः द्वन्द्व भए बेरुतको दहिया क्षेत्रलाई कुनै पनि हालतमा स्वीकार्य नहुने सीमा मान्ने रेजाईले बताउनुभयो । इजरायलले लेबनानमा कब्जा गरेका क्षेत्रबाट फिर्ता हुनुपर्ने उल्लेख गर्दै उहाँले भविष्यको युद्ध अघिल्लोभन्दा फरक हुने चेतावनी दिनुभयो ।

अमेरिकाले सैन्य आक्रमणबाट आर्थिक दबाबतर्फ नीति परिवर्तन गर्नु सैन्य कारबाहीको ‘निरर्थकता’ को प्रमाण भएको रेजाईको दाबी छ । उहाँले नाकाबन्दी जारी रहे अमेरिकी आर्थिक हितलाई लक्षित गरी पूर्ण शक्तिका साथ जवाफ दिने चेतावनी दिनुभयो । युद्धविरामको अवधिमा इरानले करिब सातदेखि आठ करोड ब्यारेल तेल निर्यात गरेको उहाँले दाबी गर्नुभयो ।

यसअघि अगस्ट २४ मा इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानविरुद्ध अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको स्वागत गर्नुभएको थियो । सोही दिन अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

रेजाईको अभिव्यक्ति अमेरिका र इरानबीच हाल कुनै वार्ता नरहेको अमेरिकी भनाइपछि आएको हो । ह्वाइट हाउसकी पूर्व प्रेस सचिव क्यारोलिन लेभिटले अर्थपूर्ण वार्ताका लागि इरान तयार नभएसम्म वार्ता अघि नबढ्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले भने इरानसँगको विषयमा ‘सबै विकल्प’ खुला राख्नुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नदिएको र आफू वार्ता पुनः सुरु गर्न ‘हतारमा नरहेको’ बताउनुभएको थियो । उहाँले इरानमा बढ्दो मुद्रास्फीति र कमजोर अर्थतन्त्रलाई अमेरिकी आर्थिक दबाबको प्रभावका रूपमा प्रस्तुत गर्नुभएको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया