बैङ्कक, ११ भदौ : नेपाल–तिब्बत सीमाक्षेत्रमा कम्तीमा १८० जनाको ज्यान जाने गरी भएको विनाशकारी बाढी र भग्नावशेषको प्रवाह सामान्य बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदीको ठूलो हिस्सा खसेपछि उत्पन्न भएको हुन सक्ने विज्ञहरूले बताएका छन् । प्रारम्भिक अध्ययनअनुसार बरफ, चट्टान, माटो र पानीको तीव्र बहावले तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।
न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कोक्सका अनुसार करिब पाँच हजार २०० मिटर उचाइबाट हिमनदीको ठूलो भाग उपत्यकातर्फ खसेको देखिन्छ । खस्ने क्रममा बरफ चट्टान र माटो तथा गेग्रानसँग मिसिएर विशाल भग्नावशेषमा परिणत भएको तथा त्यसले रुख, माटो र अन्य वस्तुसमेत बगाउँदै तीव्र गतिमा तलतिर यात्रा गरेको उहाँले बताउनुभयो । शक्तिशाली प्रवाहले सुरुमा सीमाक्षेत्रको चौकीलाई असर गरेको थियो भने त्यसपछि नेपालको तल्लो क्षेत्रमा पुगेर गाउँ, पुल तथा भवनमा ठूलो क्षति पुर्याएको थियो ।
घटना यति शक्तिशाली थियो कि भूकम्प मापन गर्ने उपकरणमा समेत कम्पन दर्ता भयो । स्थानीय समयअनुसार बिहान ८ः३७ बजे भएको घटनालाई सुरुमा ५.२ म्याग्निच्युडको भूकम्पीय घटनाका रूपमा रेकर्ड गरिएको थियो । तर थप विश्लेषणपछि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्प नभएको र कम्पन हिमनदी पतन तथा त्यसबाट उत्पन्न भग्नावशेषको प्रवाहका कारण भएको निष्कर्ष निकालेको छ । हिमनदीको कति भाग खसेको हो भन्ने यकिन नभए पनि कोक्सले यसको मात्रा पाँच लाखदेखि १० लाख घनमिटरसम्म हुन सक्ने अनुमान गर्नुभयो ।
दुर्गम क्षेत्रमा घटना भएकाले विज्ञहरूले उपग्रह तस्बिर र जमिनमा रहेका मापन केन्द्रका तथ्याङ्कबाट घटनाको पुनर्निर्माण गरिरहेका छन् । भिक्टोरिया युनिभर्सिटी अफ वेलिङ्टनकी हिमनदीविद् लरेन भार्गोका अनुसार घटनाअघिका र घटनापछिका तस्बिर तुलना गरी पहाडबाट कति बरफ वा अन्य पदार्थ हराएको छ भन्ने पत्ता लगाउन सकिन्छ ।
नेपाली अधिकारीहरूका अनुसार भूकम्पीय कम्पनपछि नजिकैको पानी मापन केन्द्रले सूचना प्रसारण गर्न छाडेको थियो र तल्लो क्षेत्रका अन्य केन्द्र पनि क्रमशः अफलाइन भएका थिए । यद्यपि कालिखोलास्थित केन्द्रमा दिउँसो २ः१४ बजे पानीको सतह १२.३ मिटर पुगेको अभिलेख छ ।
घटनापछि हिमनदी ताल फुटेर आएको बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) को सम्भावना पनि औँल्याइएको थियो । जलवायु परिवर्तनका कारण हिमनदी पग्लने क्रम बढेसँगै यस्ता तालको जोखिम बढिरहेको विज्ञहरूको भनाइ छ । सनसाइन कोस्ट विश्वविद्यालयका हिमनदीविद् एड्रियन म्याकलमले हिमनदीभित्र वा त्यसको मुनि जम्मा भएको पानी एकैपटक बाहिर निस्कँदा ठूलो बहाव सिर्जना भएको हुन सक्ने बताउनुभयो ।
केही विज्ञहरूले घटनास्थलनजिकै स्पष्ट हिमनदी ताल नदेखिएको बताएका छन् । उनीहरूका अनुसार हिमनदीमुनि जम्मा भएको पानी बरफ खसेसँगै बाहिर आएको वा खसिरहेको हिमनदीले केही समय नदी थुनेर अस्थायी बाँध बनाएपछि बाँध भत्किँदा पानी एकैपटक बगेको हुन सक्छ । गर्मी याममा हिमनदी पग्लने क्रम र मनसुनको वर्षाका कारण नदीमा पानीको मात्रा पहिल्यै उच्च रहेकाले भग्नावशेषसँगै बगेको पानीले बाढीको शक्ति थप बढाएको कोक्सले बताउनुभयो ।
नेपाली अधिकारीहरूले बिहान करिब ९ बजे बाढीको जानकारी पाएपछि भोटेकोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सूचना दिएका थिए । तर कति मानिससम्म सूचना पुगेको थियो र सुरक्षित स्थानमा पुग्न पर्याप्त समय मिल्यो कि मिलेन भन्ने स्पष्ट हुन बाँकी छ ।
म्याकलमका अनुसार ठूलो हिमनदी वा सम्भावित हिमनदी तालमुनि बसोबास गर्ने समुदायका लागि यस्ता घटना गम्भीर जोखिम हुन् । टेक्सास सान एन्टोनियो विश्वविद्यालयका जलविज्ञानी हातिम सरिफले तीव्र गतिमा आउने माटो र पानीको मिश्रण अत्यन्त घातक हुने भएकाले पैदल वा सवारीसाधनबाट भाग्नु प्रभावकारी नहुन सक्ने बताउनुभयो । उहाँका अनुसार यस्तो अवस्थामा अग्लो स्थानमा पुग्नु जीवन जोगाउने प्रमुख उपाय हुन सक्छ ।
कुनै एउटा हिमनदी पतनलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै परिणाम भन्न कठिन भए पनि बढ्दो तापक्रमले हिमनदीमा दीर्घकालीन दबाब सिर्जना गरिरहेको विज्ञहरूको भनाइ छ । विश्वभर हिमनदीहरू पग्लिँदै र सुक्दै गएपछि हिमनदी ताल तथा अन्य प्राकृतिक जोखिम बढ्नुका साथै तल्लो क्षेत्रका समुदायका लागि दीर्घकालीन जलस्रोतको चुनौतीसमेत थपिँदै गएको छ । भार्गोका अनुसार यस्ता विपत्तिको जोखिम घटाउने प्रभावकारी दीर्घकालीन उपाय हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्नु हो । (रासस/एएफपी)






