तेहरान, ११ भदौ : अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् । इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर लामो लाइन लाग्न थालेको जनाइएको छ ।
उपराष्ट्रपति मोहम्मद जाफर घेम्पानाहले पेट्रोल उत्पादन देशको आवश्यकताअनुसार पर्याप्त नभएको र अमेरिकी नौसैनिक नाकाबन्दीका कारण आवश्यक परिमाणमा पेट्रोल आयात गर्न नसकिएको बताउनुभएको सरकारी इरना समाचार एजेन्सीले जनाएको छ ।
अमेरिकासँगको युद्धका कारण इरानमाथि आर्थिक दबाब बढिरहेका बेला इन्धन अभावको समस्या देखिएको हो । सोमबार राष्ट्रपतिको कार्यालयका प्रमुख मोहसेन हाजी–मिर्जाईले पेट्रोल वितरणसम्बन्धी कोटाको पुनरवलोकन गरिने बताउनुभएको थियो ।
फेब्रुअरी २८ मा इरान र अमेरिकाबीच युद्ध सुरु भएपछि तेहरानले रणनीतिक स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम गरेको र त्यसको प्रतिक्रियास्वरूप वासिङ्टनले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको समाचारमा उल्लेख छ ।
घेम्पानाहले इरानमा पेट्रोल वितरणको विद्यमान प्रणाली असमान रहेको बताउँदै अत्यधिक अनुदान प्रााप्त इन्धनबाट धेरै सवारीसाधन भएका व्यक्तिले बढी लाभ लिइरहेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार सवारीसाधनको सङ्ख्या बढी हुनेलाई अनुदानको लाभ बढी पुग्ने भएकाले वर्तमान वितरण प्रणालीमा सुधार आवश्यक छ ।
विश्वकै प्रमुख तेल उत्पादक मुलुकमध्ये एक इरानमा पेट्रोलको मूल्य राजनीतिक रूपमा संवेदनशील विषय मानिन्छ । सरकारले लामो समयदेखि इन्धनलाई ठूलो परिमाणमा अनुदान दिँदै आएको छ । अनुदानका कारण इरानमा पेट्रोलको मूल्य विश्वकै सस्तोमध्ये रहेको छ ।राससले जनाएको छ । (रासस/एएफपी)






