नुवाकोट, ११ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।
बुधबार अकश्मात भोटेकोशीमा बाढी गएपछि उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएका प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार नुवाकोटस्थित नेपाली सेनाको श्री नं. १ गण तालिम केन्द्र, मैथली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्लास्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभयो । उहाँले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको मन्त्री डा.तिमिल्सिनाले जानकारी दिनुभयो ।
“सङ्कटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा उद्धार र राहतलाई प्राथमिकता दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । उहाँले ‘जीवन उद्धार पहिलो प्राथमिकतामा पर्नुपर्छ । सङ्कटको समयमा सरकार साथमै छ । सरकार चिन्तित छ, पीडितको राहत र सहयोगका लागि कुनै अभाव हुन दिँदैनौँ’ भन्नुभएको छ,” प्रधानन्त्रीको भनाई उद्धृत गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सञ्चारमन्त्री डा. तिमिल्सिना, प्रधानसेनापति अशोकराज सिग्देल, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागी हुनुहुन्थ्योे ।
एकद्वार प्रणालीमार्फत राहत तथा उद्धार
बैठकपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशनबमोजिम सबै निकायलाई ‘हाई अलर्ट’मा राखेर विपद्पछिको कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँले ठूलो र अकल्पनीय विपद् परेकाले उद्धार तथा राहतको काम चुनौतीपूर्ण भए पनि जिल्लामा आएका राहत सामग्री जिल्ला प्रशासन कार्यालयको समन्वयमा एकद्वार प्रणालीमार्फत स्थानीय तह र राजनीतिक दलसँग समन्वय गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याइएको बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा धेरै पुल बगेकाले पुल निर्माणलगायत विषयमा उच्चस्तरीय संयन्त्रमा छलफल गरी आवश्यक निर्णय लिइने उहाँले जानकारी दिनुभयो । “विद्युत् आपूर्ति जोडिएको छ । धेरै पुल बगेकाले बेलीब्रिज बनाउने कि अन्य विकल्पमा जाने भन्ने विषयमा उच्चस्तरीय संयन्त्रमा छलफल गरेर अगाडि बढछौँ,” प्रजिअ रेग्मीले भन्नुभयो ।
नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायक कम्पनीका टावरमा विद्युत् आपूर्ति नहुँदा हेलिकप्टरमार्फत जेनेरेटर पठाएर विद्युत् आपूर्ति सुचारु गरिएको उहाँले बताउनुभयो । विद्युत् आपूर्ति भएपछि दूरसञ्चार सेवा पनि सहज भएको उहाँको भनाइ छ । प्रजिअ रेग्मीका अनुसार जिल्लाको आन्तरिक व्यवस्थापनलाई सहज बनाउन अधिकतम प्रयास भइरहेको छ ।
हेलिकप्टरबाट ४१४ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म हेलिकप्टरमार्फत ४१४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६४ जना विदेशी नागरिक रहेका छन् । तीमध्ये १८ जनालाई सम्बन्धित दूतावास वा सम्पर्क सूत्रमार्फत पठाइसकिएको छ भने बाँकी विदेशी नागरिकलाई अस्थायी सेल्टरमा राखिएको छ ।
उद्धार गरिएका नेपाली नागरिकमध्ये १८९ जनालाई सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । बाँकीलाई जिल्लाका विभिन्न सात स्थानमा स्थापना गरिएका अस्थायी सेल्टरमा राखिएको छ । हालसम्म करिब एक हजार २०० जना सेल्टरमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभित्र हालसम्म २६ वटा शव फेला परेका छन् । तीमध्ये आठ वटा शव काठमाडौँ पठाइसकिएको छ ।सरकारले उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको राससले जनाएको छ ।
राससमा उल्लेख छ ।
रहेको






