जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  ४ घण्टा अगाडि

काठमाडौँ, ७ भदौ : लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ ।

यसैगरी, हालसम्म सङ्क्रमित मध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ । जेइका ‘केस’ (बिरामीको अवस्था) हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात-सात, सप्तरी र कञ्चनपुरमा छ-छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच-पाँच रहेका छन् । मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा जेइ पुष्टि भएको प्रतिवेदनले जनाएको छ ।

जापानिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ । धेरै बिरामी धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सङ्क्रमित जनावर जस्तै सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ । जेइको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्याङ्क छ ।

साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजानसमेत महाशाखाले अनुरोध गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार ८० जनामा पुष्टि भएका मध्ये ५१ अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन् । जेइका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ ।

यस वर्ष हालसम्म पुष्टि भएका ८० बिरामीमा पुरुष ४३ र महिला ३७ जना छन् । जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै रोगबाट सुरक्षित हुने यो प्रभावकारी उपचार भएको विभागको भनाइ छ । यो रोगबाट सुरक्षित हुन जेइ खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विभागले जनाएको छ । सरकारले जेइ खोप १२ महिनाको उमेरका बालबालिकालाई लगाउने गर्दछ । यदि छुटेको भएमा पाँच वर्षको उमेरसम्मका बालबालिकालाई जेइ खोप लगाइन्छ । परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो रोगबाट बच्न खोप अनिवार्य रहेको बताउँदै छुटेकालाई थीघ्र खोप लगाउन आग्रह गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया