भारत-आर्मेनिया रक्षा सहकार्यमा समझदारी

  ४ घण्टा अगाडि

येरेवान, २ भदौ : भारत र आर्मेनियाले रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन तथा संयुक्त उत्पादनलाई अघि बढाउन समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । दुई देशबिच रक्षा औद्योगिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित भएको यो समझदारीले रक्षा क्षेत्रमा प्रविधि तथा उत्पादन सम्बन्धी सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

भारतीय रक्षा सचिव राजेश कुमार सिंहले सोमबार येरेवानमा आर्मेनियाका उच्च प्रविधि उद्योगमन्त्री डेभिट तादेवोस्यानसँग भेटवार्ता गरी पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय रक्षा औद्योगिक सहयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको थियो । सोही क्रममा रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन र संयुक्त उत्पादनमा सहकार्य गर्न एमओयुमा हस्ताक्षर गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि रक्षा सचिव सिंहले आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानसँग भेटवार्ता गरी दुई देशबिचको रक्षा साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल गर्नुभएको थियो । दुवै पक्षले द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्ने नयाँ सम्भावना खोज्दै भारत-आर्मेनिया रक्षा सम्बन्धलाई थप विस्तार गर्ने साझा प्रतिबद्धता दोहोर्याएको मन्त्रालयले जनाएको छ ।

बैठकमा आर्मेनियाका लागि भारतीय राजदूत नीलाक्षी साहा सिन्हा पनि सहभागी हुनुहुन्थ्यो । रक्षा सचिव सिंहले आर्मेनियाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल एडवर्ड अस्र्यानसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा दुई पक्षले रक्षा औद्योगिक सहकार्य र रक्षा अनुसन्धान तथा विकासमा थप ध्यान केन्द्रित गर्दै भारत-आर्मेनिया रक्षा साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

रक्षा सचिव सिंह दुई दिने भ्रमणका क्रममा आइतबार आर्मेनियाको राजधानी येरेवान पुग्नुभएको थियो । उहाँलाई आर्मेनियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी तथा भारतीय राजदूत सिन्हाले स्वागत गर्नुभएको थियो । पछिल्लो भ्रमणलाई यसै वर्षको सुरुमा नयाँदिल्लीमा भएको आर्मेनियाली उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डलको भ्रमणपछि दुई देशबिच रक्षा क्षेत्रमा बढेको द्विपक्षीय संलग्नताको निरन्तरताका रूपमा हेरिएको छ ।

गत अप्रिलमा आर्मेनियाका सशस्त्र बलका जनरल स्टाफ प्रमुख लेफ्टिनेन्ट जनरल एडवर्ड अस्र्यानले नयाँदिल्लीमा रक्षा सचिव सिंहसँग द्विपक्षीय रक्षा सहयोगका विषयमा छलफल गर्नुभएको थियो । त्यस क्रममा उहाँले भारतीय वायु सेनाका प्रमुख एयर चिफ मार्शल एपी सिंहसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

नयाँ समझदारीसँगै भारत र आर्मेनियाबिच रक्षा क्षेत्रमा अनुसन्धान तथा विकास, प्रविधि, नवप्रवर्तन र संयुक्त उत्पादनका सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ । दुई देशले पारस्परिक हितका क्षेत्रमा रक्षा औद्योगिक सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया