हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

  २ घण्टा अगाडि

जेरुसेलम, ३१ साउन : इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ ।

यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार शनिबार दक्षिणी लेबनानमा गरिएको आक्रमण जुनमा युद्धविरामसम्बन्धी समझदारी भएयताकै सबैभन्दा घातक हो ।

इजरायलले उक्त कारबाही हिजबुल्लाहले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा विस्फोटक ड्रोन प्रहार गरेपछि गरिएको जनाएको छ । ड्रोन आक्रमणमा एक अधिकृतसहित तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।

“कुनै पनि क्षेत्रमा हिसाबकिताब बाँकी राखिने छैन । हामी हाम्रा सैनिक र नागरिकको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौँ”, इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्नुभएको छ ।

इजरायली सेनाले शनिबार मारिएका व्यक्तिमध्ये अबु हसन अलाको पहिचान गर्दै उनी हिजबुल्लाहको ‘बद्र’ एकाइका वरिष्ठ कमाण्डर रहेको जनाएको छ । सेनाका अनुसार उनी इजरायली सैनिकमाथि ड्रोन आक्रमण गर्ने योजनामा सङ्लग्न थिए ।

यसअघि इजरायलले उक्त आक्रमणमा हिजबुल्लाहको विशेष ‘रडवान फोर्स’का कमाण्डर अली समीर अल–हाज हसन पनि मारिएको जनाएको थियो ।

इजरायली सेनाले हसनका परिवारका सदस्यहरू घटनास्थलमा उपस्थित रहेको स्वीकार गरे पनि उनीहरू आक्रमणको लक्ष्य नभएको भन्दै कारबाहीको बचाउ गरेको छ ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले अन्सार गाउँमा भएको आक्रमणमा पूरै परिवार मारिएको बताउनुभएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये तीन बालबालिका र दुई महिला छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक इमरान रिजाले आक्रमणको निन्दा गर्दै नागरिक र बालबालिकाको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हिजबुल्लाहले नागरिकलाई जानाजानी जोखिममा पारेको आरोप लगाएको छ । हिजबुल्लाहले उक्त आरोप अस्वीकार गर्दै आक्रमणका लागि नेतान्याहुलाई जिम्मेवार ठहर गरेको छ ।

इजरायल र हिजबुल्लाहबीचको तनाव अमेरिकी मध्यस्थतामा भएको समझदारीपछि केही घटेको भए पनि दक्षिणी लेबनानमा बेलाबेलामा हिंसात्मक घटना भइरहेका छन् ।

समझदारीअनुसार इजरायली नियन्त्रणमा रहेका दक्षिणी क्षेत्रको सुरक्षाको जिम्मेवारी लेबनानी सेनाले क्रमशः सम्हाल्ने व्यवस्था गरिएको छ । तर हिजबुल्लाहले निः शस्त्रीकरण गर्न अस्वीकार गर्दै आएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया