अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

  ८ घण्टा अगाडि

सिडनी, १३ जेठ : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ । यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो । सरकारी तथ्याङ्क अनुसार मुद्रास्फीतिमा केही कमी आए पनि आवास र यातायात क्षेत्र अझै मूल्य वृद्धिका मुख्य कारण बनेका छन् ।

अस्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको विवरण अनुसार उपभोक्ता मूल्य सूचकाङ्क अन्तर्गत सबैभन्दा ठुलो हिस्सा ओगटेको आवास क्षेत्रको लागत एक वर्षमा ६.३ प्रतिशतले बढेको छ । बिजुलीको मूल्यवृद्धि, नयाँ घर निर्माण खर्च तथा भाडादर बढेका कारण आवास खर्चमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

यातायात क्षेत्रको मूल्य पनि एक वर्षमा ६.६ प्रतिशतले बढेको छ । यद्यपि मार्च महिनामा यो वृद्धि ८.९ प्रतिशत रहेको थियो । तथ्याङ्क विभागका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कका ११ समूह मध्ये सात समूहमा मूल्य वृद्धिको गति अघिल्लो महिनाको तुलनामा घटेको छ, जसमा यातायात क्षेत्रको गिरावट सबैभन्दा धेरै देखिएको छ ।

मूलभूत मुद्रास्फीति, जसलाई अस्थिर मूल्य हटाएर मापन गरिन्छ, अप्रिलसम्मको १२ महिनामा ३.४ प्रतिशत पुगेको छ । मार्चमा यो ३.३ प्रतिशत थियो । यो सूचकलाई अस्ट्रेलियाको केन्द्रीय बैँकले ब्याजदर निर्धारण गर्दा महत्त्वपूर्ण आधारका रूपमा प्रयोग गर्ने गर्दछ । इन्धनको मूल्यमा पनि उतारचढाव देखिएको छ । मार्चदेखि अप्रिलसम्म पेट्रोलको मूल्य ७ प्रतिशतले घटेको छ ।

यसअघि मार्चमा पेट्रोलको मूल्य ३२.८ प्रतिशतले बढेको थियो । सरकारले अस्थायीरूपमा इन्धन कर आधा घटाएका कारण मूल्यमा केही राहत आएको बताइएको छ । तर, मध्यपूर्व तनाव सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा इन्धन मूल्य अझै २३.५ प्रतिशतले उच्च रहेको छ । तथ्याङ्क विभागकी मूल्य तथ्याङ्क प्रमुखले डिजेलको मूल्य भने अप्रिलमा उल्लेख्यरूपमा बढेको जानकारी दिएकी छन् ।

तेलको मूल्य वृद्धिको असर ढुवानी तथा मालसामान ओसारपसारमा आधारित वस्तु तथा सेवामा पनि परेको देखिएको छ । यसका कारण हुलाक तथा पार्सल सेवा शुल्क एक वर्षमा १२.४ प्रतिशतले बढेको छ भने नयाँ घर निर्माण सामग्रीको लागत ४.७ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी बिजुलीको मूल्य एक वर्षको अवधिमा २२.५ प्रतिशतले बढेको छ । सरकारी सहुलियत तथा अनुदान समाप्त भएपछि विद्युत् शुल्कमा तीव्र वृद्धि भएको जनाइएको छ ।

विश्लेषकका अनुसार मुद्रास्फीतिमा सामान्य कमी देखिए पनि आवास, ऊर्जा र यातायात क्षेत्रमा मूल्य अझै उच्च रहेकाले उपभोक्तामाथि आर्थिक दबाब कायम रहेको छ । यसले आगामी दिनमा अस्ट्रेलियाको मौद्रिक नीति तथा ब्याजदर निर्णयमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया