अल्माटी, १३ जेठ : कजाकिस्तानको उत्तर-पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि-रसायन छर्कने कार्यमा प्रयोग भइरहेको एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ ।
प्रारम्भिक जानकारीअनुसार, उक्त विमान दुई जना चालक दलका सदस्यसहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो । ठोक्किना साथ विमानमा क्षति पुगेको र नियन्त्रण गुमेपछि विमान जमिनमा खसेको बताइएको छ ।
घटनास्थलमै एक जना चालक दलका सदस्यको ज्यान गएको छ भने अर्का सदस्य गम्भीर घाइते भएका छन् । स्थानीय आपतकालीन उद्धार टोली तत्काल घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाएको छ ।
दुर्घटनापछि उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको थियो । अधिकारीहरूले प्रारम्भिकरूपमा विद्युत् लाइनसँग ठोक्किनु नै दुर्घटनाको मुख्य कारण भएको अनुमान गरे पनि वास्तविक कारण, उडानको अवस्था, मौसमीय स्थिति तथा प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् । (रासस/सिन्ह्वा)






