इस्तानबुल, २६ कात्तिक : टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको निधन भएको टर्की सरकारले पुष्टि गरेको छ ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी-१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।
विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भन्नुभयो, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी-१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मी शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”
दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यमा विमान हावाबाट तीव्ररूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला-ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ ।
जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोली घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । “विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो”, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।
दुर्घटनामा परेको सी-१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् । टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् ।
प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ । टर्की सरकारले शहीद सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ । रासस/एएफपी





