भौतिकशास्त्रको नोबेल पुरस्कारमा कम्प्युटर क्रान्ति र ‘अदृश्यता क्लोक’ प्रमुख दावेदार

  असोज २१, २०८२

यस वर्षको भौतिकशास्त्रका लागि नोबेल पुरस्कार आज बिहान ११ः४५ बजे (०९४५ जिएमटी) घोषणा हुँदैछ । यस प्रतिष्ठित सम्मानका लागि कम्प्युटर इमेज कम्प्रेसनलाई सम्भव बनाउने गणितीय सिद्धान्त, ‘अदृश्यता क्लोक’ प्रविधि र जेम्स वेब स्पेस टेलिस्कोप पछाडिको विज्ञानलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

नोबेल सिजनको दोस्रो पुरस्कार अन्तर्गत सोमबार मानव प्रतिरक्षा प्रणालीमा अनुसन्धान गर्ने अमेरिकी वैज्ञानिक मेरी ब्रन्को र फ्रेड राम्सडेल तथा जापानी वैज्ञानिक शिमोन सकागुचीलाई चिकित्साशास्त्रतर्फको पुरस्कार प्रदान गरिएको थियो । उहाँहरूलाई शरीरको इम्युनोलोजिकल ‘सुरक्षा गार्ड’ पहिचान गर्ने खोजका लागि सम्मान गरिएको हो ।

यसपटक धेरै विज्ञहरूले भौतिकशास्त्रको नोबेल वेभलेट सिद्धान्तका प्रवर्तकहरूलाई सम्मान गर्न सक्ने अनुमान गरेका छन् । क्लेरिभेट अनुसन्धान फर्मका विश्लेषक डेभिड पेन्डलबरीका अनुसार यो गणितीय सिद्धान्त ‘रहस्यमय लागे पनि’ तस्विर र भिडियो कम्प्रेसनजस्ता प्रविधिहरू मार्फत ‘दैनिक जीवनमा गहिरो प्रभाव’ पारेको छ ।

सम्भावित विजेताहरूमा बेल्जियमकी इन्ग्रिड डाउबेचिस, फ्रान्सेली गणितज्ञ स्टेफन मल्लट र यभेस मेयरको नाम अगाडि छ ।

यता, सार्वजनिक प्रसारक स्वेरिग्स रेडियोका विज्ञान सम्पादक लार्स ब्रोस्ट्रोमले नोबेलले ‘मेटामेट्रियल्स’ अर्थात् ‘अदृश्यता क्लोक’ प्रविधि विकसित गर्ने कार्यमा योगदान दिनेलाई सम्मान गर्ने सम्भावना पनि औँल्याउनुभयो । यस क्षेत्रमा बेलायती भौतिकशास्त्री जोन बी. पेन्ड्रीलाई प्रमुख उम्मेदवारका रूपमा हेरिएको छ ।

– क्वान्टम सूचना र एल्गोरिदम –

ब्रोस्ट्रोमका अनुसार ‘क्वान्टम सूचना’ र एल्गोरिदमसम्बन्धी कार्यहरू पनि सम्भावित विषय हुन् । फिजिक्स वल्र्ड पत्रिकाका सम्पादक हामिश जोनस्टनका अनुसार यस क्षेत्रमा दशकौँअघि गरिएको अग्रगामी अनुसन्धान अहिले क्वान्टम कम्प्युटर र क्रिप्टोग्राफी प्रणालीमा परिणत भएको छ ।

सम्भावित सम्मानप्राप्त व्यक्तिहरूमा अमेरिकी गणितशास्त्री पिटर सोर, क्यानाडाली क्रिप्टोग्राफर गिल्स ब्रासार्ड, अमेरिकी भौतिकशास्त्री चार्ल्स एच. बेनेट र इजरायली–ब्रिटिश वैज्ञानिक डेभिड ड्युस्चको नाम उल्लेख गरिएको छ ।

– खगोल भौतिकी र सूक्ष्म प्रविधि –

खगोल भौतिकी पनि पुरस्कारका लागि बलियो क्षेत्र मानिएको छ । डेजेन्स निहेटरकी पत्रकार मारिया गुन्थरका अनुसार आकाशगङ्गाको गठन अध्ययन गर्ने मेक्सिकन–ब्रिटिश ब्रह्माण्डविद् कार्लोस फ्रेन्क, अर्जेन्टिनी खगोलशास्त्री जुलियो नभारो र बेलायती वैज्ञानिक साइमन ह्वाइट सम्मानका दावेदार हुन सक्नुहुनेछ ।

त्यस्तै, अमेरिकी एलन गुथ र रूसी–अमेरिकी आन्द्रेई लिन्डेले प्रतिपादन गरेको ब्रह्माण्डीय मुद्रास्फीति सिद्धान्त पनि बलियो विकल्प हो ।

स्वेरिजेस रेडियोकी विज्ञान पत्रकार क्यामिला वाइडबेकका अनुसार आणविक स्तरमा थ्रिडी छविहरू उत्पादन गर्न सक्ने ‘माइक्रोस्कोप प्रविधि’ लाई पनि सम्मान गर्न सकिन्छ । यस क्षेत्रमा स्विस भौतिकशास्त्री क्रिस्टोफ गर्बर प्रमुख नाम हो ।

गत वर्षको भौतिकशास्त्र पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्सका अग्रदूत बेलायती–क्यानेडियन जेफ्री हिन्टन र अमेरिकी जोन हपफिल्डलाई प्रदान गरिएको थियो । उहाँहरूले आफ्नै आविष्कारले मानव समाजमा जोखिम निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो ।

भौतिकशास्त्रपछि बुधबार रसायनशास्त्र, बिहीबार साहित्य र शुक्रबार शान्ति पुरस्कार घोषणा गरिनेछ । अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १४ मा प्रदान हुनेछ ।

विजेताहरूले डिसेम्बर १० मा स्विडेनका राजा कार्ल सोह्रौँ गुस्ताफबाट डिप्लोमा, स्वर्ण पदक र १० लाख डलरको चेक प्राप्त गर्नेछन् । यो मिति वैज्ञानिक अल्फ्रेड नोबेलको निधन वार्षिकोत्सवसँग मेल खान्छ । अल्फ्रेड नोबेलले आफ्नो इच्छापत्रमा यी पुरस्कारहरूको परम्परा सुरु गर्नुभएको थियो ।
रासस

तपाईको प्रतिक्रिया