कञ्चनपुर, जेठ १३ : कृष्णपुर नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका विभिन्न विद्यालय तथा कलेजहरूमा सञ्चालन गरिएको CyberSafe Nepal: Digital Awareness Campaign सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको उक्त ८ दिने अभियानमा विद्यार्थी तथा युवापुस्तामाझ साइबर सुरक्षा र डिजिटल सचेतनासम्बन्धी विभिन्न अन्तरक्रियात्मक तथा व्यवहारिक सत्रहरू सञ्चालन गरिएको थियो।
अभियानअन्तर्गत साइबर सुरक्षा, सुरक्षित इन्टरनेट प्रयोग, डिजिटल जिम्मेवारी, सामाजिक सञ्जालको सचेत प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, अनलाइन गोपनीयता तथा वर्तमान समयमा तीव्र रूपमा विस्तार भइरहेको Artificial Intelligence (AI) को सही प्रयोग, यसको अवसर र सम्भावित जोखिमहरूबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। अभियानका क्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया, व्यवहारिक प्रस्तुतीकरण तथा डिजिटल सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण सञ्चालन गरिएको थियो।
अभियानमा प्रशिक्षकका रूपमा Aayush Paneru र Mohit Bhandari ले विभिन्न शैक्षिक संस्थामा पुगेर प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। डिजिटल युगमा बढ्दो साइबर जोखिम तथा प्रविधिको प्रभावलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अभियान विद्यार्थीहरूका लागि जानकारीमूलक, उपयोगी तथा समयसापेक्ष बनेको सहभागीहरूले बताएका छन्।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी तथा युवापुस्तामा सुरक्षित डिजिटल संस्कार विकास गर्न तथा जिम्मेवार प्रविधि प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि यस्ता प्रविधिमूलक तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।






