यस वर्षको नोबेल साहित्य पुरस्कारका लागि स्विस उत्तरआधुनिकतावादी उपन्यासकार क्रिश्चियन क्राच, अस्ट्रेलियाका जेराल्ड मुर्नाने र एलेक्सिस राइटलाई प्रमुख मनपर्नेका रूपमा हेरिएको विज्ञहरूले स्विडेनी एकेडेमीको बहुप्रतिक्षित बिहीबार हुने घोषणाको पूर्वसन्ध्यामा बताएका छन् ।
गत वर्ष दक्षिण कोरियाकी हान काङलाई विजेता घोषित गर्दै एकेडेमीले इतिहास रचेको थियो । उहाँ पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली महिला बन्नुभएको थियो । यस वर्ष भने विज्ञहरूले सम्भावित विजेता पुरुष हुने र युरोपेली लेखकतर्फ फर्किने अनुमान गरेका छन् ।
स्वेरिग्स रेडियोकी संस्कृति समालोचक लिना कालमेटेगका अनुसार गत वर्ष गैर–युरोपेली महिलालाई सम्मान गरिएकोले यसपटक एकेडेमीले युरोपेली पुरुष रोज्न सक्छ ।
क्राचसँगै हङ्गेरीका लास्लो क्रास्नहोरकाई र पिटर नादास तथा रोमानियाका मिर्सिया कार्टारेस्कु पनि सम्भावित नाममा पर्नुभएको छ ।
५८ वर्षीय जर्मन भाषाका लेखक क्राचले पप संस्कृति र उपभोक्तावादका विषयमा लेखेका कृतिका कारण साहित्यिक वृत्तमा उच्च सम्मान पाउनुभएको छ ।
डागेन्स निहेटरका संस्कृति सम्पादक ब्योर्न विमनका अनुसार स्विडिस एकेडेमीका सदस्यहरू उहाँलाई गोथेनबर्ग पुस्तक मेलामा पहिलो पङ्क्तिमा बसेर सुन्दै थिए, जुन सामान्यतया ठोस सङ्केत हो । उहाँले उदाहरणका रूपमा सन् २००४ मा अस्ट्रियाली नाटककार एल्फ्रिडे जेलीनेकले पुरस्कार जित्दा पनि यस्तै भएको उल्लेख गर्नुभयो ।
– ‘अकल्पनीय’ बाट ‘संभाव्य’ सम्म –
नोबेल साहित्य पुरस्कार सन् १९०१ देखि प्रदान हुँदै आएको छ । यसमा पश्चिमी पुरुष लेखकहरूको दबदबा रहँदै आएको छ । एक सय २१ विजेतामध्ये १८ जना मात्र महिला छन् र अत्यन्त कम लेखकले एसियाली वा मध्यपूर्वी भाषामा लेखेका छन् । कुनै अफ्रिकी भाषाका लेखकले अझसम्म पुरस्कार पाएका छैनन् ।
सन् २०१८ को मीटु काण्डपछि एकेडेमीलाई पुनर्गठन गरिएको थियो । त्यसपछि यसले भौगोलिक र भाषिक विविधता बढाउने वाचा गरेको थियो, जसका परिणामस्वरूप पछिल्ला वर्षहरूमा लैङ्गिक सन्तुलन देखिएको छ । सन् २०१८ पछि प्रत्येक अर्को वर्ष महिलालाई विजेता घोषणा गरिएको छ ।
विमनका अनुसार हान काङजस्ता लेखकहरू केही वर्षअघि अकल्पनीय थिए, तर अब सम्भाव्य बनेका छन् । तर उहाँले यो वर्ष ‘एङ्ग्लो–स्याक्सन, जर्मन वा फ्रान्सेली भाषाका लेखक’ विजेता बन्ने सम्भावना पनि देख्नुभयो ।
कालमेटेगले भन्नुभयो, “गत वर्ष महिला र गैर–युरोपेली विजेता भएकाले यसपटक ढाँचा उल्टिने सम्भावना छ — अर्थात् युरोपेली पुरुष ।”
– विचित्र उत्कृष्ट कृति –
नोबेल समितिको छलफल ५० वर्षसम्म गोप्य राखिने भएकाले सटीक अनुमान गर्न कठिन हुन्छ । यद्यपि, नियमित रूपमा चर्चामा रहने लेखकहरूमा क्यानाडाकी एनी कार्सन, चिलीका राउल जुरिटा, भारतका अमिताव घोष र अर्जेन्टिनाका सेजर आइरा पनि पर्नुभएको छ ।
पेरुका मारियो वर्गास लोसा सन् २०१० मा अन्तिम दक्षिण अमेरिकी विजेता बन्नुभएको थियो । त्यसपछि उक्त क्षेत्रका लेखकहरू उपेक्षित रहँदै आएका छन् । कालमेटेगले मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जालाई पनि सम्भावित नामका रूपमा उल्लेख गर्नुभयो ।
एकेडेमीले प्रायः विश्वव्यापी रूपमा कम चिनिएका तर साहित्यिक दृष्टिले प्रभावशाली लेखकहरूलाई प्रकाशमा ल्याउने प्रवृत्ति राख्ने भएकाले यस वर्ष अस्ट्रेलियाका जेराल्ड मुर्नाने र आदिवासी मूलकी एलेक्सिस राइट पनि बलिया दाबेदार हुनुहुन्छ ।
सन् १९३९ मा मेलबर्नमा जन्मिएका मुर्नानेले आफ्ना कृतिहरूलाई ‘मेरो दिमागको सामग्रीमा आधारित साहित्यिक कथा’ भनेर व्याख्या गर्नुहुन्छ । उहाँको पहिलो कृति ‘तामारिस्क रो’ (१९७४) ले पारिवारिक जीवन, धर्म र बाल्यकालीन सङ्घर्षलाई चित्रित गर्छ । उहाँको चर्चित उपन्यास ‘द प्लेन्स’ (१९८२) लाई न्युयोर्कर पत्रिकाले ‘विचित्र उत्कृष्ट कृति’ को रूपमा व्याख्या गरेको छ, जसले ‘पुस्तकभन्दा सपना जस्तो अनुभव गराउँछ’ ।
“प्रश्न यो हो—उहाँले फोनको जवाफ दिनुहुन्छ कि ? मलाई त थाहा पनि छैन, उहाँसँग फोन छ कि छैन”, स्विडेनको एसभिडीकी साहित्य समालोचक जोसेफिन डे ग्रेगोरियोले मजाकमा भन्नुभयो, “उहाँले कहिल्यै अस्ट्रेलिया छोड्नुभएन, ग्रामीण क्षेत्रमा बस्नुहुन्छ र निकै एकान्तप्रिय हुनुहुन्छ । म चाहन्छु उहाँले जित्नुहोस, ताकि संसारभरका पाठकहरूले उहाँको अद्भुत लेखन पत्ता लगाउन सकोस् ।”
सन् २०२५ का नोबेल साहित्य विजेताले १२ लाख डलरको पुरस्कार पाउनेछ । घोषणा बिहीबार दिउँसो १ः०० बजे (११०० जिएमटी) गरिनेछ ।
–रासस