चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको सैन्य परेड सेप्टेम्बर ३ तारिख थ्यानमन चोकमा भव्य रुपमा आयोजना गरियो । शाङ्हाई सहयोग संगठनको थ्यानचिन शिखर सम्मेलनमा भाग लिन आएका विभिन्न २६ देशका विशिष्ट पाहुनाहरूले सैन्य परेड अवलोकन गरेपछि शान्तिप्रतिको चिनियाँ प्रतिवद्धता ती देशमा मात्रै पुगेन, तर विश्वभर फैलिएको छ । यसको कारण हो, बेइजिङ केन्द्रभागमा अत्याधुनिक प्रविधिको प्रदर्शनका बाबजुद चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्त्वपूर्ण सम्बोधनमा देखाएको प्रतिवद्धता ।
उनले भने, चीनको आधुनिकीकरणको चिनियाँ बाटो शान्तिपूर्ण विकासको बाटो हो ।

विश्वका विभिन्न मञ्चमा चीनले सधैँ नै विश्व शान्तिको लागि विकालत गर्दै आएको छ । चीनले दिएको सन्देश के हो भने दोश्रो विश्वयुद्धमा आततायी युद्धले मानव सभ्यता नै खस्किन्छ तर शान्तिद्वारा नै यो सृष्टि संरचना सम्मृद्ध बनाउन सकिन्छ । चीनले आफ्नो विकासको मोडलमा स्थिरतालाई जोडेको छ । किनभने स्थिरताविना प्रगति संभव छैन ।
विभिन्न मुलुकले विश्वको आधुनिकीकरणलाई संयुक्त रुपमा अगाडि बढाउने र सुन्दर मानव भविष्यको सिर्जना गर्ने सदासयता चीनले राखेको देखिन्छ, जुन चिनियाँ नेतृत्वबाट बारम्बार प्रकट भइरहेको सुनिन्छ।

थ्यानमनचोकमा नेपालका प्रधानमन्त्री केपी शर्माओलीले पनि पहिलोपटक सहभागिता जनाए । विश्वमा शान्ति स्थापनाका लागि बीर गोर्खालीहरूले पनि ज्यानको बाजी लगाएका छन् । नेपाली बीरहरूको बहादुरीको पनि यो परेडले प्रतिनिधित्व गर्दछ । जसरी चिनियाँ सैनिकले नीलो टोपी लगाएर संयुक्त राष्ट्रसंघको शान्ति सुरक्षामा योगदान गरेका छन् र सो सैन्य परेडमा देखापरेका छन् । कुनै एक क्षेत्र वा मुलुकप्रतिको पूर्वाग्रह होइन तर शान्तिप्रतिको मानव समुदायको अटुट वाचा हो । अतः सैन्य परेडको साइड इफेक्ट भनेको केबल शान्ति मात्रै हो । सी चिनफिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सबै पाहुनालाइ स्वागत गर्ने बेलामा विभिन्न जाति र विश्वव्यापी जनतालाई शान्तिकामी भएकामा बधाई अर्पण गरेका थिए ।
अहिलेको विश्व अशान्तिको चक्रब्यूहमा फसिरहेको छ । मानव सभ्यताले शान्तिको वकालत गर्छ तर युद्ध उन्मादीहरूले वैमनस्य रचेर विश्व संचालनको अर्डर नै ध्वस्त पारिरहेका छन् । बेइजिङबाट चीनले दिएको सन्देशको तात्पर्य यही हो कि हतियार वा सैन्य शक्तिको दुरुपयोग गर्नाले प्रत्युत्पादक मात्रै हुन्छ । जस्तो कि सी चिनफिङ सैन्य आयोगका अध्यक्ष भएको नाताले जहिल्यै पनि सेनाले पार्टी र जनताको विश्वास बन्नुपर्नेमा जोड दिइरहेका हुन्छन् । सेनाको एक मात्र पवित्र कर्तव्य भनेकै राष्ट्रभक्ति हो । देशको सार्वभौमिकता, एकीकरण र भूखण्डको अक्षुण्णताको संरक्षण गर्नु नै उनीहरूको जिम्मेवारी हो । किनकी कुनै पनि मुलुकमा शान्ति तब छाउँछ जब त्यहाँको भूमि अविच्छिन्न छ, जनता एकतावद्ध छन् र मुलुक पुनरुत्थानको मार्गमा शान्तचित्तले अघि बढिरहेको छ । दोश्रो विश्वयुद्धका घाउका डोबहरू सम्झेर चीनले गर्न खोजेको यही हो कि यसले विश्वको शान्तिपूर्ण विकासका लागि अझै योगदान गर्नु हो ।

चीनको विकास आफ्नो लागि खतरा भएको ठान्ने पश्चिमा जगत यहाँनेर छ । चीन शान्तिको परेवा उडाउन मन पराउने शान्तिप्रिय भएको सन्देश प्रवाहले धेरै राहत दिनसक्छ । चीनले मात्रै तीतो विगत सम्झेर मीठो आगतको परिकल्पना गरिरहेको छ जुन आफ्नो लागि मात्रै होइन, विश्वका लागि हो । सी चिनफिङले भने, इतिहासले विगतलाई बोकिरहेको छ र भविष्यलाई उज्यालो बनाउने छ। नयाँ युग र नयाँ विकासको यात्रामा, चीनभरिका विभिन्न जातिहरूका जनताहरूले चिनियाँ कम्युनिष्ट पार्टीको दृढ प्रेरणामा मार्क्सवाद-लेनिनवाद, माओ विचारधारा, तङ स्याओपिङ सिद्धान्त, “तीन प्रतिनिधित्व” को महत्त्वपूर्ण विचार र विकासको वैज्ञानिक दृष्टिकोणलाई कायम राख्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा दृढताका साथ हिँड्नुपर्छ ।

शाङ्हाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलन अगष्ट ३१ र सेप्टेम्बर १ तारिख गरी केन्द्रशासित थ्यानचिनमा सम्पन्न भएपछि सबैजसो पाहुनाहरू बेइजिङ उत्रिएका थिए । एससीओ भनेको चीन, रसिया, भारत, पाकिस्तान जस्ता एसियाको युगलाई प्रतिनिधित्व गर्ने शक्तिहरूको संगठन हो । उनीहरूले एसियाको भविष्यलाई उज्यालो बनाउने अठोट लिएर तीव्र गतिको बुलेट ट्रेन अर्थात् चिनियाँ विकासलाई पछ्याउँदै बेइजिङमा पाइला टेकेका थिए । उनीहरूले सेप्टेम्बर ३ तारिख बिहान अत्याधुनिक हतियारहरूको माझबाट परेवाहरू उडिरहेको मनोरम दृष्य नियाल्ने अवसर पाए । यसको सांकेतिक अर्थ यही हो कि शान्तिको सन्देह चराजस्तै उडेर विश्वमा फैलिनुपर्छ ।
विज्ञान प्रविधिले फड्को मार्दै गरेको अबको विश्वमा शान्ति र संवाद बाहेक अर्को बाटो छैन । युद्धविरोधी भावनालाई बढाउनका लागि चीनले दिएको एउटा भरोसा नै सैन्य परेड थियो । चीनले त प्रतिज्ञा गरिसकेको छ कि एकजुट भएर चिनियाँ शैलीको आधुनिकीकरणद्वारा बलियो देशको निर्माण र राष्ट्रिय पुनरुत्थानको महान कार्यलाई व्यापक रूपमा प्रवर्द्धन गर्न प्रयास गर्नुपर्छ । चीनको पुनःउत्थान रोकिने छैन । मानव शान्ति र विकासको महान कार्य अवश्य नै जित्नुपर्छ । चिनियाँ भूमिबाट प्रसारित शान्ति र विकासप्रतिको दृढता अनि बिगतको कालरात्री सम्झेर भविष्यको चम्किलो उज्यालोका लागि प्रयास गर्नुपर्छ । चीनको शान्तिपूर्ण सैन्य परेडको मननीय विचारधारा यही हो कि, इतिहासलाई सम्झनुपर्छ, शहीदको सम्मान गर्नुपर्छ, शान्तिको संरक्षण गर्नुपर्छ र सुनौलो भविष्यको रचना गर्नुपर्छ ।
बेइजिङबाटसीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालको सहयोगमा साझाखबरको टिप्पणी । तस्बिरः एजेन्सी