पर्वतका ८६ सडक स्तरोन्नति हुँदै

  १० घण्टा अगाडि

पर्वत, १२ भदौ : सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ९६ करोडभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् । जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ ।

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले रु ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले रु ३३ करोड प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले राससलाई जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष रु १९ करोड ४५ बजेट घटेको छभने ५० वटा आयोजना कम छन् । विगतदेखि सञ्चालनमा रहेका छवटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ ।

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि रु ५१ लख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि रु तीन करोड बजेट विनियोजन भएको छ । यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँचवटा सडकका लागि रु दुई करोड ७५ लाख विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया